संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ ।
“मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्रष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा हामीमध्ये सबैभन्दा कमजोर-बालबालिकाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरौँ“, गुटेरेसले भन्नुभयो ।
'मानव बेचबिखनका पिडितरुमध्ये एक तिहाइ बालबालिकाहरू रहेका छन् । उनीहरुले श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने वा आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकथनीय दुर्व्यवहार भोग्दै आएका छन्',उहाँले भन्नुभयो-'बढ्दो असमानता र भूमण्डलीकरणले जटिल तस्करीको सञ्जाललाई बढावा दिएको छ जसले परम्परागत कानुनी ढाँचालाई चुनौती दिन्छ र दासत्वका नयाँ रूप सिर्जना गर्दछ ।'
संयुक्त राष्ट्रसङ्घका प्रमुखले औंल्याउनुभयो, “अनलाइन सञ्जालका कारण पनि बालबालिकाहरु यौन शोषण र लैङ्गिक हिंसाको सिकार भइरहेका र यसले तस्करी गर्ने दलालहरुलाई सीमापारबाट पीडितहरूको शोषण गर्ने माध्यम दिएको छ ।"
यस्ता अपराधका शारीरिक र मनोवैज्ञानिक चोटहरु लामो समयसम्म रहिरहँदा उनीहरूको निर्दोषता, भविष्य र मौलिक हक लुटिएको उल्लेख गर्दै गुटेरेसले भन्नुभयो "हामीले बाल-संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने,पिडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिवारहरूलाई सहयोग गरेर शोषणका मूल कारणलाई निर्मुल गर्ने सुरक्षा प्रतिक्रियालाई बलियो बनाउनुपर्छ।"
संयुक्त राष्ट्रसङ्घका प्रमुखले कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्किन नपाओस भन्दै सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आह्वान गर्नुभयो । “आजको दिनमा हरेक बालबालिकाको सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रो प्रतिबद्धता व्यक्त गरौं", उहाँले भन्नुभयो । (रासस / सिन्ह्वा)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा