नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटका व्यवसायीको एक लाख रुपैयाँको स्वास्थ्य तथा दुर्घटना बिमा भएको छ । बर्दघाट उद्योग वाणिज्य संघले संघमा आबद्ध व्यवसायीको साउनदेखि लागू हुने गरी बिमा गरिदिएको हो ।
विभिन्न कारणले बिरामी भएमा वा भैपरी आउने घटना तथा दुर्घटनाका कारण संघमा आबद्ध व्यवसायीलाई उपचारका लागि आर्थिक सहयोग पुर्याउने उद्देश्यले बिमा गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसायीलाई पर्ने समस्यामा सानो भए पनि राहत होस् भनेर स्वास्थ्य र दुर्घटना बिमा गरिएको हो ।’
संघले बर्दघाट नगरको हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा औद्योगिक व्यापार मेला सञ्चालन गरेको थियो । सोही मेलाबाट केही रकम जोगाएर व्यवसायीको बिमा र पाँच लाख रुपैयाँको विपत्ति व्यवस्थापन कोष स्थापना गरिएको न्यौपानेको भनाइ छ । करोडौं रुपैयाँ बर्दघाटमा लगानी गरेका तर केही समस्या परेमा कसैले सहयोग नगरेको गुनासो गर्दै आएका व्यवसायीलाई बिमा र विपत्ति कोषले सानो भए पनि सहयोग हुने संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले बताउनुभयो । बर्दघाटमा सञ्चालनमा रहेका व्यवसाय संघमा व्यवसाय दर्ता हुन र दर्ता भएका व्यवसाय नवीकरण गरी बिमा र विपत्ति कोषको फाइदा लिन संघले आग्रह गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements