
चितवन । दश दिनअघि सिमलतालमा भएको दुर्घटनाले धार्मिक तीर्थाटनको रूपमा परिचित देवघाटधाममा लाग्ने बोलबम मेला प्रभावित बनेको छ । दुईवटा बस नै बगाएर ६२ जना यात्रु बेपत्ता बनाएको घटनाले बोलबल मेलामा भक्तजनको उपस्थिति कमजोर देखिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
‘भक्तजनको उपस्थिति हेर्दा गतवर्षभन्दा यसवर्ष कम देखियो,’ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भन्नुभयो, ‘भक्तजनको कमी हुनुमा सिमलताल घटना एउटा कारण बन्न सक्छ ।’ उहाँका अनुसार क्षेत्र विकास समितिले सोमबार एकै दिनमा ३५ हजार बढी भक्तजन आउने अनुमान गरेको थियो । तर, अपेक्षाअनुसारको उपस्थिति रहेन ।
यसपटक साउने सोमबार चार वटामात्रै रहेकोले पनि भक्तजनको उपस्थितिमा कमि देखिएको हुन सक्ने उहाँले बताउनुभयो । ‘पाँच वटा सोमबार पर्ने वर्ष अलि बढी भीड लाग्ने रहेछ,’ उहाँले भन्नुभयो, ‘सिमलताल घटना र चार वटा सोमबार परेका कारण पनि कम भएको हुन सक्छ ।’
तर, यो सोमबार उपस्थिति कम भए पनि आगामी सोमबारहरूमा राम्रै उपस्थिति हुने उहाँले अनुमान लगाउनुभयो। देवघाट आउने धार्मिक पर्यटकको लागि क्षेत्रविकास समितिले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा सुरक्षा व्यवस्था मजबुद बनाएको उहाँको दाबी छ ।
स्थानीय पत्रकार आंशिक रानामगरले पनि विगतको तुलनामा यसवर्ष देवघाटमा भक्तजनको सङ्ख्या न्यून देखिएको बताउनुभयो । ‘विगतका वर्षहरूमा भक्तजनको घुइाचो ठेलमठेल हुन्थ्यो । यसवर्ष धेरै नै खुकुलो भयो,’ उहाँले भन्नुभयो, ‘सिमलताल घटनाको प्रभाव अझै नसकिएकोले पनि यस्तो भएको हुन सक्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच