काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइको विश्वास प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिनुभएको थियो । त्यसक्रममा उहाँलाई दुईतिहाइ सांसदले समर्थन गरेका हुन् । प्रतिनिधि सभामा उपस्थित २६३ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्यो भने मत दिन्नँ भन्नेमा एक मत परेको छ । गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भई सोमबारबाट कार्यभार थाल्नुभएका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(४) अनुसार विश्वासको मत लिनुभएको हो ।
प्रतिनिधि सभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलले समर्थन गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी ओलीको विपक्षमा उभिए । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो । एमाले अध्यक्ष ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको पहिलो कार्यकाल नौ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उहाँको कार्यकाल सकिएको थियो । तर, अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिष्ट गठबन्धनले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ सिट प्राप्त गर्यो र पार्टी एकताको घोषणा गर्यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६(१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अध्यक्ष ओलीको कार्यकाल झण्डै ४० महिना थियो ।
दूषित परिणाम निस्कने खतरा बढेपछि टुलुटुलु हेर्न सकेनौँ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको स्पष्ट पार्नुभएको छ । प्रचण्ड नेतृत्वको सरकारले थिति र विधि बसाल्न नसकेको टिप्पणी गर्नुभएका प्रधानमन्त्री ओलीले यही कारण संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको स्पष्ट पार्नुभएको हो । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिपक्ष लक्षित कुनै टिप्पणी गर्न चाहन्नँ । तर, यति चाहिँ भन्छु- नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाउन सकेन । थिति बसाल्ने रुचि पनि राखेन । जसको कारण समाजमा अनेकन दूषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ । यही कुरालाई आत्मसाथ गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ ।’
संविधान संशोधनमा अडान : ‘मैले ब्याक गियर लगाउन जानेको छैन’
प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधान संशोधनको विषयमा सिंगो देश एक हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ । अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’ आफूले भनेअनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘पञ्चायत कालमा जनमत संग्रहका बेला बच्चाबच्ची रोयो भने ए ए नबोल् नबोल् जनमत संग्रह भाँडिन्छ भन्ने गर्थे । यो जनमत संग्रह भाँडिन्छ भन्नेजस्तो कुरा नगरे पनि हुन्छ । कांग्रेस र एमालेले नै हिंसालाई शान्ति र तानाशाहीलाई फ्याँकेर लोकतन्त्र ल्याएको हो । जसले सबै कामको लिड गर्यो, तिनीहरूले संविधान सिध्याउँछ भने कसले बचाउँछ ?’
रास्वपालक्षित टिप्पणी ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन’
प्रधानमन्त्री ओलीले राणा शासनको अन्धकार युगदेखि अहिलेसम्म देशलाई ल्याइपु¥याएकोमा आफूलाई गर्व महसुस भएको बताउनुभएको छ । विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै भन्नुभयो, ‘परारको साल बनेको पार्टी संविधानको जिम्मा लिन्छ, पर्दैन हामी नै लिन्छौँ । लोकतन्त्रका लागि लडेको, ल्याएको जिम्मा हामी लिन्छौँ ? रे ! पर्दैन हामी नै लिन्छौँ ।’
सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा खुलस्तै भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ । कुनै पनि काल खण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अगाडि बढाउँछौँ । सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिनेछौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ । सुशासनका लागि स्टण्ट होइन, सही इन्टेण्ट चाहिन्छ ।’ प्रधानमन्त्री ओलीले सरकार आउनेबित्तिकै सेयर बजार हरियो भएको उल्लेख गर्दै अब देशभरका बजार चलायमान हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कार्य योजना प्रारम्भ हुनासाथ उत्साहको श्रृंखला प्रारम्भ भएको छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी संलग्न सेयर बजार पछिल्लो दुई सातामा चार सय अंकले बढेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब सेयर बजार मात्र होइन देशको पूरै बजार चलायमान हुनेछ ।’
गिरीबन्धुबारे जवाफ : ‘अफवाह फैलाउन जरुरी छैन’
गिरीबन्धु टी_स्टेटबारे अफवाह फैलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले गिरीबन्धु टी-स्टेटबारे अब अफवाह फैलाउन जरुरी नरहेको बताउनुभएको हो । कानुन नभएको बेलामा हदभन्दा बढी जमिन रहेको र ती कानुनबिना नै सट्टापट्टा गर्ने काम भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विभिन्न ठाउँमा, विभिन्न समयमा हदभन्दा बढीका जमिनहरू कानुन नभईकन, नबनाईकन सट्टापट्टा गर्ने काम भए, भएकै हुन् सट्टापट्टा । कानुन नबनाईकन यसरी नगर्नु भन्ने कुरा भएपछि हामीले कानुन बनायौँ । कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ ? संसद्ले कानुन बनायो त्यहाँ नीतिगत भ्रष्टाचार गरिएको छैन । अदालतको दुहाई दिइरहनु पर्दैन । अदालतले कानुनको सम्बन्धमा कानुन निर्माणको सम्बन्धमा नीतिगत भ्रष्टाचार भनेको छैन, यो अफवाह नफैलाए हुन्छ ।’
संविधान संशोधन सहमतिबाट गर्नुपर्नेमा स्पष्ट छौँ : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच सहमति खोजेरै गरिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव माथिको छलफलमा भाग लिँदै देउवाले संविधान संशोधन गरी गणतन्त्र र समावेशितालाई सबल बनाउने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु स्वाभाविक अभ्यास हो । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा सहमतिबाट गर्नु उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ ।’ सभापति देउवाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने विश्वाससमेत व्यक्त गर्नुभयो । मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन र राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन वर्तमान सरकार गठन भएको देउवाको जिकिर छ । १७ असारमा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने देउवाको भनाइ छ ।
खराब नियत छोप्न कांग्रेस-एमाले गठबन्धन : पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले अपारदर्शी ढंगले गठबन्धन तोडेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा राख्नुभएको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलका क्रममा उपमहासचिव पुनले खराब काम छोप्नलाई संविधान संशोधनको मुद्दा अघि सारेको आरोप लगाउँदै भन्नुभयो, ‘साँच्चिकै संविधान संशोधन के को लागि गर्ने ? कतातिर जान ? साना दल र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभएको छ । के साँच्चै त्यसो देखिएको छ ? नेकपा हुँदा दुई तिहाइको प्रधानमन्त्री हुँदा के गर्नुभयो ?’ पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक अवस्थाबारे संसद्मा राखेको भनाइको खण्डनसमेत गर्नुभयो । गिरीबन्धु टी-स्टेट लगायतको भ्रष्टाचारको फाइल खोल्नेबित्तिकै नयाँ सत्ता समीकरण बनाएको पुनको आरोप छ ।
ओलीलाई रविको जवाफ : ‘सुरुवाती संकेतले हामीलाई झस्कायो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरूलाई झस्काएको बताउनुभएको छ । विश्वासको मत लिने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समीकरण बनाउन भूमिका खेलेको स्मरण गर्नुभयो । सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको टिप्पणी गर्दै लामिछानेले भन्नुभयो, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ । सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो । नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, हामीले बाल मन्दिरको विषय उठायौँ, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौँ, जहाँ जहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’
लिङ्देनको प्रश्न : ‘कांग्रेस-एमालेले मात्रै चलाएको देश कस्तो होला ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र एमालेका नेताहरूको प्रवृत्ति नै खराब भएको आरोप लगाउनुभएको छ । वर्षौंदेखि शासन गर्दै आएको तर पनि केही नुहुनु नेताहरूको प्रवृत्ति नै खराब भएको उहाँको आरोप छ । यसअघि दुई तिहाइको सरकार हुँदा पनि पाँच वर्ष नचलेको उदाहरण दिँदै लिङ्देनले गणितले मात्रै स्थिरता नआउने जिकिर गर्नुभयो । कांग्रेस-एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको उल्लेख गर्दै लिङ्देनले भन्नुभयो, ‘साना दललाई निषेध गरेर कस्तो देश बनाउने ? अहिले अन्य दल हुँदा त यस्तो छ भने कांग्रेस-एमालेले मात्रै चलाएको देश कस्तो हुन्छ होला ?’
प्रधानमन्त्रीप्रति माधव नेपालको कटाक्ष : ‘लात हानेर नर्क पठाए’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जहाँ गए पनि सँगसँगै जाने सहमति गरेर आफू मात्रै स्वर्ग गएको भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्नुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा अध्यक्ष नेपालले जहाँ गए पनि सँगै जाने सहमति गरेर आफू मात्रै स्वर्ग गएको टिप्पणी गर्दै भन्नुभयो, ‘पाँच वर्ष सँगै जाने स्वर्ग गए पनि नर्ग गए पनि सँगै जाने । सुन्दै आनन्द लाग्ने कुरा । तर, आफू स्वर्गतिर लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पठाइदियो ।’ अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आत्मलोचना गर्ने प्रवृत्तिको विकास गर्न पनि आग्रह गर्नुभयो ।
कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक
१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न,राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाहृय लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता