काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यस अघि संसद विघटन गरेको विषय स्मरण गराउनु भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धिको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद विघटनको सम्झाउनु भएको हो ।
प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न उहाँले आग्रह समेत गर्नुभयो । विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केहि नेताहरु एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर हुने पनि बताउनु भयो ।
नेता नेपालले भन्नुभयो, ‘घुमिफिरी २०८१ असार २८ गते तपाईं फेरि शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बन्नु भएकामा हामीले बधाई दिइरहँदा अब तपाईंले काम गर्नुहुनेछ भन्ने आशामात्र गर्न सक्दछौं । मध्यराति प्रतिनिधिसभा विघटनदेखि आफ्नै समर्थनको सरकार ढाल्नेसम्मका तपाईंका क्रियाकलापले निश्चित व्यक्तिहरु तरंगित र भावुक भएर अँगालो हालेको त देखिएको छ, तर तगत्तै पार्टीकै नेता कार्यकर्ताहरु अहिलेसम्म जिल्ला तहमा बोलचाल गर्न सकिरहेका छैनन्, जनता उत्साहित भएको देख्न बाँकी नै छ ।’
नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात भइरहेको विषय उल्लेख गर्दै उहाँले संसारमै यस्तो सन्देश प्रवाह भइरहेकोबारे गम्भीर हुन जरुरी रहेको समेत बताउनु भयो ।
अध्यक्ष नेपालले लोकतन्त्रको विकल्प अर्को कुनै तन्त्र वा प्रणाली हुन नसक्ने धारणा राख्नुहुँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र र व्यवहार हो भन्नुभयो । प्रणाली र संस्था बलियो नभएसम्म देश बलियो हुन नसक्नेमा जोड दिनुहुँदै उहाँले गणतन्त्रको लाभ आमनागरिकसमक्ष पुग्ने सहजमार्ग खोज्न, जनतालाई परिवर्तनको अनुभूति गराउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले संविधान संशोधनजस्तो दीर्घकालीन महत्वको विषयमा ‘कुन-कुन विषयमा संविधान संशोधन गरिने हो’ त्यसबारे सबै राजनीतिक शक्ति, बुद्धिजीवि, नागरिकसमाज र सरोकार भएकाहरूबीच छलफल गरेर देशको बृहत्तर हितअनुरूप हुनुपर्ने धारणा राख्नुभयो ।
देश र जनताको अग्रगति, सुशासन र आर्थिक समृद्धिबारे सरकार गम्भीर भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । पूर्वप्रधानमन्त्री नेपालले त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रुलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सडक पूर्वाधार निर्माण र सडक सुधारका कामलाई राज्यले प्राथमिकतामा राखेर दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी रहेको पनि उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले सूचना प्रविधिको विकास, रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, वातावरण संरक्षणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले अहिलेको परिस्थितिमा आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिने र सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको खबरदारी गर्ने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता