काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमति बाचन गर्नुभएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेससँग भएको सहमतिबारे जानकारी गराउनु भएको हो ।
राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताउनु भयो ।
यस्तो छ प्रधानमन्त्री ओलीले सुनाएको ७ बुँदे सहमति
१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।
सबै कुरा बाहिर बजारभरी आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो,‘यहाँ अघि कुरा चर्कै उठ्यो । म त्यतापट्टि जान चाहन्नँ । तर, एउटा कुरा दुनियाँका अगाडि र दुनियाँले सुन्नेगरि खुलस्त भन्न चाहन्छु–भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहन्नौं र कसैलाई भ्रष्टाचार गर्न दिन्नौ ।’
यस्तै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचारी एक दिन कानुन कठघरामा पुग्नेछ ’भन्ने विश्वास समाजमा स्थापित गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।
यस्तै सरकारी पीडितको न्यायका लागि उचित काम सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो। ‘सहकारी ठगलाई कानुनी कारबाही हुन्छ। सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता