संस्कृत साहित्यका महाकविका रूपमा दरिएका कालिदासले आफ्नो काव्य मेघदूतमा मेघलाई दूत बनाएर पठाए । दूतको काम आफ्नो मालिकको सन्देशलाई जस्ताको त्यस्तै पस्कनु हो । इमानदार दूत मेघलाई यक्षले सम्बोधन गर्दै भनेको छ :
तां चावश्य दिवसगणनातत्परामेकपत्नी
मव्यापन्नामविहितगतिर्दक्ष्यसि भातृजायाम्
आशाबन्धः कुसुमसर्दशं प्रायशो हृयङ्गनानां
सद्यः पाति प्रणयि हृदयं विप्रयोगे रुणद्धि ।।
हे मेघ ! विरहमा बचेका दिनहरू गनेर बसेकी, म आउँछु भन्ने आशामा जीवित, पतिव्रता तिम्री भाउजू (मेरी पत्नी)लाई तिमीले अवश्य देख्नेछौ । किनभने नारीहरूका आशारूपी बन्धन फूलसमान् कोमल हुन्छन् । उनीहरूको यो विरहलाई यही आशाको सानो त्यान्द्रोले नै रोकेको हुन्छ । यो आशाको त्यान्द्रो चुँडियो भने उनीहरूका सबै आशाहरू समाप्त हुन्छन् । त्यसैले यो आशाको त्यान्द्रलाई यक्षले तोड्न चाहेन ।
माथिको श्लोकको अभिव्यक्ति संस्कृत साहित्यका महाकवि कालिदासको हो । उनले मानिसका आशा होइन नारीका आशालाई कति कोमल तरिकाले बाहिर ल्याएका छन् । नारीहरू कोमल हुने र उनीहरूका आशा पनि कोमल हुने तर्कलाई उनले बाहिर ल्याए । वियोगको पीडामा छट्पटिएका नारीहरू आशाको त्यान्द्रोमा मात्र जीवित रहने तर्कलाई कालिदासको मेघदूतले समेत मानेको देखियो । यही आशाको त्यान्द्रोमा बाँच्न विवश हामी नेपाली ।
थोरै हर्ष
यही मिति २०८१ साल असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पक्षमा जम्मा त्रिसठ्ठी सांसदले विश्वास जाहेर गरे । लगभग दुई तिहाइ मत नेपाली कांग्रेस तथा नेकपा एमालेको गठबन्धनलाई स्वीकार गरेको देखियो । असार १५ दही चिउरा खाने दिनदेखि नै कांग्रेस र एमालेको सत्ता चलाउने धारणा बाहिर आएको थियो ।
स-साना राजनीतिक दललाई मिलाएर पटक-पटक विश्वासको मत लिइरहने अवस्थाको अब अन्त्य भएको तथ्य बाहिरियो । यी दुबै दलका बीचमा के कस्तो समझदारी भयो भन्ने सन्दर्भमा भने अझ पनि गोप्य छ । उक्त सम्झौता के हो ? कस्तो हो ? बाहिर आएको छैन । के सहमति भयो शेरबहादुर देउवा र खड्गप्रसाद ओलीबीच भन्ने तथ्य पनि बाहिर आएको छैन । पक्कै पनि यी दुबैले देशको सार्वभौमसत्तालाई र अखण्डता बेचेका छैनन् भन्ने कुरालाई प्रमाणित गर्नुपर्ने भने देखिँदैन । उनीहरूबीचको यो समझदारी देशको हितमा छ भन्ने तथ्यलाई उनका कार्यकर्तामात्र होइन नेपाली जनताले पनि विश्वास गरेको देखिन्छ ।
यस पटक ससाना राजनीतिक दललाई मिलाएर पटकपटक विश्वासको मत लिइरहने अवस्थाको अब अन्त्य भएको तथ्य बाहिरियो । यी दुबै दलका बीचमा के कस्तो समझदारी भयो भन्ने सन्दर्भमा भने अझ पनि गोप्य छ । उक्त सम्झौता के हो ? कस्तो हो ? बाहिर आएको छैन ।
आइतबार यही श्रावणको ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी सञ्चारमाध्यममा आएको देखियो । दुई ठूला पार्टी मिलेपछि पूर्ण बहुमतको अवस्था त आाउँछ नै तर दुईतिहाइ मत पु¥याउने अवस्थामा प्रधानमन्त्री देखिएका छन् । यो अवस्था आएमा सामान्यतया वर्तमान प्रधानमन्त्री एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा देखिनेछन् संसद् भवनभित्र ।
जनताको आशा र भरोसा जित्न भने यिनलाई र यिनको मन्त्रिपरिषद्लाई समय लाग्ने नै छ । आजै ओलीमाथि नेपाली जनताले विश्वास गर्ने अवस्था भने छैन । विकल्प हुँदाहुँदै पनि दुईपटकसम्म प्रतिनिधिसभा विघटन गर्ने ओलीप्रतिको विश्वासमा कांग्रेसमात्र उभिएर हुँदैन । त्यो विश्वासमा एमाले र नेपाली कांग्रेसका कार्यकर्तामात्र उभिएर पनि हुँदैन । नेपाली जनताको भरोसा जित्न ओलीलाई भने केही समय अवस्य लाग्ने नै छ । नेपाली जनताको भरोसा ओलीले भाषणबाट होइन आफूले गठन गरेको मन्त्रिपरिषद्का माध्यमबाट जित्ने हो ।
वर्तमान प्रधानमन्त्रीको मन्त्रिमण्डलमा प्रचारप्रसारमा रमाउने र आत्मरतिमा नै मख्ख पर्ने मन्त्रीको संख्या पनि कम देखिएको छ । अबका नेपाली जनता धेरै बाठा भइसकेका छन् । नेपालीले सबैभन्दा बढी विश्वास मन्त्रीका भाषणमा होइन काममा खोजेका छन् । कामका माध्यमबाट देखाउनु छ जनतालाई । पहिलेजस्तो कटाक्षयुक्त भाषण गर्ने र जहाँ गए पनि रेल आउँछ । पाइपबाट ग्यास आउँछ भन्ने कपोलकल्पित भाषण गर्ने ओलीलाई नेपालीले चाहेका पनि होइनन् । उखानटुक्का भनेर जनतालाई रल्ल पार्ने र मतदाताको मत चोर्न सिपालु ओली पनि जनताले खोजेका छैनन् ।
ससाना दललाई रिझाउनुपर्ने बाध्यता पनि अबका ओलीमा छैन । प्रजातन्त्रको मियो बनेको नेपाली कांग्रेसको साथ उनलाई छ । उनी अब काममा लागेर कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रधानमन्त्री बनून् भन्ने चाहना नेपाली जनताको छ सामान्य कार्यकर्ताको होइन । सामान्य मानिसका बारेमा र सामान्य पार्टी वा पार्टी प्रमुखका बारेमा टिप्पणी गर्ने ओलीले अबका दिनमा आफूलाई जिम्मेवार र विकासप्रेमी व्यक्तिका रूपमा उभ्याउनु आवश्यक देखिएको छ ।
नेपालको राजनीतिमा आज दिनमा सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर बनेको सरकारप्रति नेपाली जनताको सानो आशा रहेको देखिन्छ । राजनीतिको यो गठबन्धनप्रति नेपाली जनताको मनमा थोरै हर्ष जागेको छ । तर विश्वास गरिहाल्ने पक्षमा नेपाली जनता भने छैनन् । कार्यकर्ता पूर्ण विश्वासमा छन् र बधाई दिन मन्त्रालयदेखि निवाससम्म धाइरहेका छन् । कार्यकर्ताको विश्वास राजनीतिमा दल र दलका नेताप्रति सदा रहेको हुन्छ । राजनीतिमा जनताको विश्वास जित्नु आवश्यक रहेको देखिन्छ । यो विश्वासमा यी दुबै दल कामले सावित हुने हुन् भाषणले होइन । यी दुई दलको मिलनमा यी दुबै पार्टीका कार्यकर्तामात्र होइन नेपाली जनता पनि थोरै विश्वासमा अडिएको देखिन्छ ।
धेरै आशा
राजनीति आशाको केन्द्र पनि हो । सरकार फेरिएसँगै दलका कार्यकर्ता र नेताका आसेपासेले आशाको ठूलो चाङ बोकेर बसिरहेका हुन्छन् । ककसलाई के चाहियो त्यो फेरिहस्त नै मन्त्रीका हातमा पुगेको हुन्छ दुईचार दिनमा नै । मन्त्री अलमलमा परिरहेको हुन्छ म के गरुँ कसो गरुँ ? यो अवस्था मन्त्रीलाई नेपाली जनताले होइन उनकै कार्यकर्ताले दिएको हुन्छ । आफ्नो पार्टीको मन्त्री, आफ्नो जिल्लाको मन्त्री, आफ्नो नाता पर्ने मन्त्री, आफ्ना भिनाजु मन्त्री, आफ्नी श्रीमतीको भिनाजु, मामा, काका आदि मन्त्री जस्ता अनर्गल प्रलापहरू बाहिर आएका हुन्छन् ।
साथै मन्त्री भइयो पैसा कमाउन सकिएन अर्को निर्वाचनका लागि रकम जम्मा गर्न सकिएन आफन्तलाई राम्रो पदमा नियुक्ति दिन सकिएन जस्ता पश्चातापले मन्त्रीलाई एक महिनादेखि नै चिन्ताले खाने गरेको हुन्छ । अझ यो आशा त आफन्तले प्रधानमन्त्रीसित बढी राखेका हुन्छन् । मन्त्रालय बुझ्दा नै मन्त्रीलाई महिनौ लाग्न सक्ने अवस्था पनि न आउने होइन । कतिपय मन्त्रीले त कार्यकाल सकिँदासम्म मन्त्रालय र मन्त्रीले काम गर्ने के हो बुझेका समेत हुँदैनन् । त्यसैले मन्त्री जनताको हुने हो । आफ्ना र आफन्तको होइन । मन्त्रीले जनताको काम गर्ने हो आफ्ना र आफन्तको होइन । आशा आफ्ना आफन्त र कार्यकर्ताका बढी हुनु स्वभाविक पनि हो तर मन्त्री जनताको हित र नेपाल तथा नेपालीको भलाइका लागि समर्पित हुनु अनिवार्य मानिन्छ ।
दुई ठूला दल मिलेर बनेको यो सरकारसित नेपाली जनताले आशा धेरै गरेका छन् । यो नेपाली जनताको आशा हो । गएको निर्वाचनमा नेपालका ठूला दलका नेता र तिनको व्यवहारबाट दिक्क भएका आफ्ना कार्यकर्ताले समेत अन्य कुनै पार्टी वा स्वतन्त्र व्यक्तिलाई चुनेका थिए ।
नेपालको सबैजसो क्षेत्र डाँबाडोल र भाँडभैलोले भरिएको चाङ हो । यो चाङलाई हटाउन धेरैले प्रयास गरे तर सकेनन् । मन्त्री देशको हो । व्यक्ति, परिवार, पार्टी आफन्तको होइन । मन्त्रीले आफ्नो मन्त्रालयमा आएका समस्याको समाधान आफैँले गर्ने हो बाहिर कराएर होइन । नेपालको शिक्षा व्यापारीकरणमा गयो । नेपालका बालबालिकादेखि युवायुवतीले आफ्नो देशको शिक्षामा विश्वास गर्न छोडे । उनीहरूले आजको दिनमा दश जोड दुईपछि आफूलाई विदेशी भूमिमा उभिने तरिकाले तयारी अवस्था पुर्याएका छन । आज नेपालका क्याम्पसभन्दा भाषा सेण्टरमा विद्यार्थीको चाप बढी देखिन थालिसक्यो । स्वास्थ्य क्षेत्रमा विकास भएको छ । अझ पनि नेपालको स्वास्थ्य गरिब र नेपाली जनताका घर आँगनमा पुग्न सकेको छैन । यो अवस्थालाई पनि सुधार्न आवश्यक छ ।
हाम्रो देशको स्थानीय तहमा दुईपटक मतदान भयो । यो दोस्रो मतदानबाट छानिएर आएका प्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा नेपाली जनताले खुलेर भाग लिए र आफ्नो सहभागिता देखाए । स्थानीय तहमा भएका गाससदेखि वडाध्यक्ष, उपप्रमुखदेखि प्रमुखसम्म यी राजनीतिक दलका कार्यकर्ता हुन् । कांग्रेस, एमाले, माओवादीलगायत केही साना दलका कार्यकर्ता नै नेताका रूपमा परिणत भएर स्थानीय तहमा चुनाव जितेका हुन् । आजको अवस्थामा हेर्ने हो भने अख्तियार, सतर्कता केन्द्रमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहका नै रहेको तथ्यलाई अख्तियारले सार्वजनिक गरेको छ ।
त्यसरी नै सबैभन्दा बढी बेरुजु पनि स्थानीय तहमा नै देखिएको छ । किन यस्तो भयो आफ्ना कार्यकर्ताललाई कसले सोधेको छ । यी दलका कार्यकर्ता नै स्थानीयतहका नेता होइनन् र ! तिनलाई पनि कानुनका मातहतमा रही खर्च गर्न र भ्रष्टाचार नगरी स्थानीय तहमा शासन चलाउने व्यवस्थाका लागि नेतृत्व तहबाट नै जानकारी हुनु आवश्यक मानिन्छ ।
दुई ठूला दल मिलेर बनेको यो सरकारसित नेपाली जनताले आशा धेरै गरेका छन् । यो नेपाली जनताको आशा हो । गएको निर्वाचनमा नेपालका ठूला दलका नेता र तिनको व्यवहारबाट दिक्क भएका आफ्ना कार्यकर्ताले समेत अन्य कुनै पार्टी वा स्वतन्त्र व्यक्तिलाई चुनेका थिए । अबको निर्वाचनमा तिम्रा कार्यकर्ताले पनि तिम्रा आफ्नै उम्मेदवारलाई मतदान दिने अवसर दिने गरी काम गर । यही हो नेपाली जनताको आशा पनि । आशा धेरै छन् नेपालीका । राजनीतिक दलप्रति विश्वास धरमराउँदो छ नेपाली जनताको ।
त्यसलाई सम्झेर काम गर । नेपाली जनताका आशा कालिदासले भने जस्तै कोमल छन् सानो त्यान्द्रोमा उनिएर आएका छन् । ती आशाका किरणलाई भत्काउने गरी काम नगर । यही आशा आज नेपाली जनताले यो सरकारसित राखेका छन् । राजनीतिक दलका कार्यकर्ता खुशी भए पनि नेपाली जनता न हर्ष र न बिस्मातमा छन् । नेपाली जनताको भरोसा जित्ने गरी काम गर भन्ने शुभकामनासहित ।






