काठमाडौं । अखिल नेपाल किसान महासंघले बाढीपहिरोपीडित किसानको राहत तथा पुनस्र्थापनाको माग गरेको छ । विगत केही दिनयता आएको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो, डुबान र कटानले ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाको माग गरेको छ । महासंघले बाढीपहिरोमा परी बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी र तीव्र पार्न, उद्धार गर्न, घाइतेको निःशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउन, राहत सहुलियत उपलब्ध गराउन, सुरक्षित बासस्थानमा पुनस्र्थापित गर्ने कार्य प्रभावकारी तुल्याउन माग गरेको हो ।
महासंघले बाढीपहिरोमा परी बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी र तीव्र पार्न, उद्धार गर्न, घाइतेको निःशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउन, राहत सहुलियत उपलब्ध गराउन, सुरक्षित बासस्थानमा पुनस्र्थापित गर्ने कार्य प्रभावकारी तुल्याउन माग गरेको हो ।
महासंघद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशमा मनसुन सक्रिय भएसँग वर्षेनी मुुलुकका विभिन्न भागमा जाने बाढी, पहिरो, डुबान, चट्याङबाट मानिस, पशुपक्षी, अन्नबालीमा व्यापक क्षति पुग्ने गरेको छ । नदी कटानले खेतबारीमा लगाइएको बाली विनाश गर्ने, भूक्षयले बाटो बिगारेर सवारी साधन दुर्घटनामा परी ज्यान लिने तथा आवतजावतमा अवरोध खडा भई सास्ती बेहोर्नुपर्ने, बाढी पसेर घरबस्ती नै उजाड बनाएर सर्वसाधारणको उठिबास हुने नियतिको व्युहमा पर्नु परिरहेको छ । यसप्रकारको प्राकृतिक प्रकोपबाट सीमान्तीकृत समुदाय, कृषि श्रमिक, गरिब तथा साना किसान परिवारले झनै बढी पीडित बन्नु परिरहेको छ । तीव्र जलवायु परिवर्तनका कारण बितेका केही दशकदेखि यस्तो क्षतिमा झनै बढोत्तरी भइरहेको छ ।’
प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन तथा स्वच्छ वातावरण प्रतिकूलका मानवीय क्रियाकलापका कारण वर्षायाममा हुने प्राकृतिक विपत्ति नियन्त्रणका लागि राज्यले पूर्वतयारी गर्न तथा घटना घटेमा प्रतिकार्य तीव्र र प्रभावकारी तुल्याई जनधनको क्षति हुन नदिने दिशामा विगतबाट पाठ सिकेर ठोस योजनासाथ अघि बढ्न महासंघले नेपाल सरकारको गम्भीर रूपमा ध्यान आकर्षण गराएको छ ।
महासंघ अध्यक्ष डा. प्रेम दंगालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मुलुकमा जनसंख्याको करिब दुर्ई तिहाइ हिस्सा कृषि पेशामा संलग्न रहेको परिप्रेक्ष्यमा किसानले नै सबैभन्दा बढी दुःख, पीडा र भुक्तमान बेहोर्नुपर्ने यथार्थ हो । त्यसैले किसानको हक हित तथा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि बाढीपहिरोपीडित किसानलाई बिउबिजन, सिँचाइ, कृषि ऋण र न्यायोचित रूपमा अनुदान उपलब्ध गराउन आग्रह गर्दछौँ ।’ कृषि पेशालाई दिगो र भरपर्दो बनाउन वातावरण अनुकूल हुने गरी बाली विकासमा जोड दिँदै दंगालले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मल, बिउ सिँचाइ, उपजको चुस्त बजारीकरण, सहुलियत दरमा ऋणको व्यवस्था मिलाउनु अनिवार्य शर्त रहेको भन्दै त्यसतर्फ समेत सरकारले प्रभावकारी कदम चाल्ने महासंघले विश्वास लिएको बताउनुभएको छ ।
मृतकका परिवारलाई दुर्ई लाख
सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुर्ई लाख रुपैयाँका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन् ।
मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर हालसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको हो । भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवितै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । शुक्रबार गत एक महिनामा भएको बाढीपहिरोलगायत विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेदनअनुसार बाढीपहिरोपीडित परिवारलाई तत्काल राहत स्वरूप १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरिएको छ ।






