भक्तपुर । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुई तिहाइ जनसंख्या संलग्न कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन र आम्दानी बढाउनुपर्ने बताउनुभएको छ । प्रतिस्पर्धी हुन नसक्ने उद्योग कलकारखानाले उँभो नलगाउने भन्दै
उहाँले आफूहरूको सुझबुझका कारण सिमेन्टमा देश आत्मनिर्भर भएको र निर्यातको चरणमा गएको जिकिरसमेत गर्नुभयो । बिहीबार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पुनले यस्तो जिकिर गर्नुभएको हो । पूर्वमन्त्री पुनले भन्नुभयो, ‘पर्यटन र जलविद्युत्मा हामीसँग चीन र भारतमात्र होइन, कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैनन्, यो हाम्रो प्रतिस्पर्धी क्षेत्र हो ।’
उहाँले १८ घण्टा लोडसेडिङमा रहेको देश आफूहरूले नेतृत्व गरेपछि लोडसेडिङमुक्त मात्र नभई हाल वार्षिक १८ अर्बको विद्युत् भारतलाई बेचिरहेको र ४० मेगावाट बंगलादेशलाई बेच्ने चरणमा रहेको पनि बताउनुभयो ।
नेपालको विकास र समृद्धिका लागि अर्को प्रतिस्पर्धी क्षेत्र सूचना प्रविधिको क्षेत्र देखिएको उहाँले बताउनुभयो । पूर्वमन्त्री पुनले भन्नुभयो, ‘गत वर्ष हामीले एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात गर्यौँ, सूचना प्रविधि निर्यात गर्दा न हामीलाई भारत र चीनको बन्दरगाह चाहिन्छ न त आकाश । त्यसैले, शिक्षालाई सूचना प्रविधि केन्द्रित गर्न सके समृद्धि सजिलै आउँछ ।’ साथै पुनले नेपाल पूरै स्वर्ग बनाए पनि विदेश जाने क्रम रोक्न नसकिनेसमेत बताउनुभएको छ । विश्व नै एउटा गाउँको अवधारणा आइसकेकाले शिक्षा, सुविधा र अवसरको खोजीमा मानिसलाई विदेश जानबाट रोक्न नसकिने तर देशभक्तिपूर्ण शिक्षादीक्षा र नयाँ पुस्तामैत्री वातावरण दिनसकेका खण्डमा उनीहरूलाई रोक्न र फर्काउन सकिने उहाँको भनाइ थियो ।
पूर्वअर्थमन्त्री पुनले निजी क्षेत्रलाई हतोत्साहित बनाउने कार्य राज्यले नगर्ने तर त्यसो भन्दैमा सार्वजनिक क्षेत्रलाई सुधार गर्न छोड्ने भन्ने कुरा पनि नहुने भन्दै शिक्षामा पनि निजी क्षेत्रले योग्य नागरिक उत्पादनमा भूमिका निर्वाह गरिरहेको बिर्सन नहुने तर राज्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै निजी क्षेत्रलाई सम्मानजनक बिदाइका लागि तम्तयार बनाइराख्नुपर्ने पनि बताउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts