काठमाडौं । संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रसहितका तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा ती दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार बनाउन संविधान मिचेर बनाएको निष्कर्ष निकालेको कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने समेत माग गरे।
बैठकपछि माओवादी नेता बर्षमान पुनले भन्नुभयो,'दुई ठूला दल मिलेर सरकार बनाइसकेको अवस्था छ। उहाँहरुको साझा धारणा अहिलेसम्म आएको छैन। के शर्तमा मिल्नुभयो पनि आएको छैन। प्रधानमन्त्रीले के वापत सदनमा विश्वासको मत माग्नुहुन्छ?'
नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्थ्यो । ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने सहमति भएको पुनले बताउनु भयाे ।






