देशको राजनीतिले नयाँ कोल्टो फेरेको छ । चार महिना अगाडि मात्र फेरिएको गठबन्धन पुनः बदलिन पुगेपछिको यो नयाँ मन्त्रिमण्डल हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा नेपाली कांग्रेससहित केही साना दलको समेत सहभागितामा वर्तमान मन्त्रिमण्डल बन्न पुगेको छ । संसद्मा सबैभन्दा ठूलो दलको हिसाबले सरकारमा नेपाली कांग्रेसको नेतृत्व रहनुपथ्र्यो तर दोस्रो ठूलो दलको अध्यक्ष तथा संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री स्वीकार गरेर आफ्नोसमेत सहभागितामा सरकार बनाउन नेपाली कांग्रेस राजी भएपछि वर्तमान सरकार बनेको हो । महामहिम राष्ट्रपतिबाट आइतबार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरिएको भए पनि मन्त्रिमण्डललाई सुरुमै पूर्णता दिएर हिजो सोमबार एकै पटक शपथ ग्रहण गर्ने प्रधानमन्त्रीको चाहना अनुरूप मन्त्रिमण्डलका सबै मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ र हिजै सबैले आआफ्नो जिम्मेवारीका मन्त्रालयमा पुगी कार्यभार सम्हाल्नुभएको छ ।
हुनत पछिल्लो चरणमा वर्तमान राज्यप्रणालीकै आलोचना भइरहेको अवस्था छ । राष्ट्रको दूर्दशाको कारक व्यवस्थालाई मान्ने प्रयास भइरहेको छ तर व्यवस्था आफैंमा उपयुक्त र अनुपयुक्त हुने भन्ने होइन, यसलाई परिचालन गर्ने दलहरूले र दलका नेताहरूले हो । वर्तमान समयमा नेतृत्व वर्गका कमजोरीहरूका कारण जनतामा चरम निराशा कायम हुन गएको छ । त्यस अर्थमा जनतामा जो आए पनि यस्तै हो भन्ने पर्न गएको कारण गठबन्धन फेरिनु र सरकार बदलिनुप्रति जनताको कुनै प्रतिक्रिया रहने गरेको छैन । जनतामा हालका दिनहरूमा चरम निराशा छ र अब यिनै पहिलेदेखि बन्दै आएका केही सीमित नेताहरू पालोफेरोमा प्रधानमन्त्री बनिरहँदा र उनै पुराना नेताहरू सरकारमा मन्त्री बन्दासम्म देशमा उल्लेख गर्न मिल्ने खालको परिवर्तन हुने कुरामा नागरिकहरू आशावादी बन्न सकेका छैनन् ।
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि भ्रष्टाचार र अनियमितता अझै चरम रूपमा बढेर गएको छ । करोड, अरब र खरबका अनियमितताहरू त कति भए कति । आपराधिक गतिविधिहरूले पनि प्रश्रय पाउँदै आइरहेका छन् । कुनै पनि अनियमिततामा संलग्न दोषीहरूलाई सजाय गरिएन र उन्मुक्ति पाएपछि तिनीहरू अझै अराजक बन्दै गए । विकास निर्माणका कामहरू दीर्घकालीन र टिकाउ हुनेगरी सम्पन्न हुन सकका छैनन्, मिलेमतोमा कमजोर संरचना तयार गर्ने गरिन्छ । यसले गर्दा चौतर्फी निराशा व्याप्त हुन पुगेको छ । धेरै ठूलो बलिदानीबाट प्राप्त वर्तमान संविधान र सो अनुसारको शासकीय स्वरूपको आलोचनामात्र होइन वर्तमान संविधान अनुरूप भएका दुईवटा निर्वाचनबाट आएका पदाधिकारीहरूमा पनि राष्ट्रप्रतिको बफादारी कम र व्यक्तिगत तथा दलगत स्वार्थ बढी पाइएको छ ।
कुनै एउटा पार्टी एक्लैले बहुमत ल्याउन नसकेको र सरकारमा गठबन्धन गर्नुपर्ने बाध्यताका कारण सरकारहरूमा स्थायित्व हुन पाएन । कहिले एउटा दलसँग र कहिले अर्को दलसँग मिलेर सरकार बनाउने खेल छिटो छिटो भइरहेको अवस्थामा वर्तमान मन्त्रिमण्डल बन्न पुगेको छ । त्यसकारण यसले पूर्ववर्ती सरकराहरूभन्दा बढी जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ । यस सरकारमा पनि गुटबन्दी मेटिन सकेन, भगबण्डामा मन्त्रीको छनौट भएको छ । नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीले नै गुटबन्दीलाई कायम राखेको छ । मन्त्रिमण्डलमा पठाइएका व्यक्तिहरू समावेशीताको सिद्धान्तअनुसार छनौट गर्न नसकेको भनेर सुरुमै आलोचना भएको छ । क्षेत्र, जात, जाति, लिंगको समीकरण मिल्न नसकेको भनेर आलोचना गर्ने ठाउँ पार्टीहरूले छोडेका छन् ।
सन्तुलित विकास गर्ने, जनताको निराशा हटाउने प्रयास गर्ने, अनियमिता र भ्रष्टाचार हटाउने प्रयास गर्ने, आपराधिक कार्यमा संलग्न हुनेहरूलाई हदसम्मको सजाय गर्नेजस्ता कार्यमा यो सरकार सफल बन्न सक्नुपर्छ, जनताले परिवर्तनको महसुस हुनुपर्छ । नत्र सरकार फेरिए पनि र सरकारको नेतृत्व गर्ने व्यक्ति फेरिए पनि देशको समग्र अवस्था उस्तै रहिरहनेछ । यो सरकार निकै शक्तिशाली भएर बनेको छ । संसद्मा पहिलो र दोस्रो दल एक भएर आएका कारण र अन्य केही साना दलहरूले समेत समर्थन गरेका हुनाले यस सरकारसँग दुई तिहाइ बहुमत रहेको छ । राष्ट्रलाई दीर्घकालीन प्रभाव पार्ने, अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्ने र तिनलाई पारित गर्ने, संविधान संशोधन गर्नेजस्ता गहनतम् कार्यका लागि दुई तिहाइ बहुमतको आवश्यकता पर्नेछ भनेर संविधानमै लेखिएको छ ।
अब यस सरकराले उक्त अधिकारसमेत पाएको छ । विगतमा नेकपाको सरकार रहेको समयमा दुई तिहाइको निकटको बहुमतमात्र थियो अहिले त्यस बेलाको भन्दा बढी संख्या समेटिन पुगेको छ । त्यस अर्थमा यो सरकार सर्वशक्तिवान् बनेर देखापरेको छ तर अधिकारको प्रयोग गर्दा कर्तव्य पनि भुल्नु हुँँदैन भन्ने भनाइलाई यस सरकारले शिरोधार्य गर्न बिर्सनु हुँदैन । जे होस् सरकार शक्तिशाली बनेको छ । जुनसुकै काम गर्नका लागि सरकारसँग यथेष्ट बहुमत प्राप्त छ । यसको दुरुपयोग नगरी काम गर्न यस सरकारले सकोस् । पूर्ववर्ती सरकारहरू जस्तो तीन-तीन महिनामा सहमति बदल्ने, विवाद गर्ने र गठबन्धन फेरिरहने काम यस सरकारले नगरोस् । यस सरकारका पालामा भ्रष्टाचार अनियमितताहरूले प्रश्रय नपाऊन्, अपराधीकरण नमौलाओस्, प्राकृतिक प्रकोपमा परेका जनताका लागि उद्दार र राहतको पर्याप्त व्यवस्था हुन सकोस् यस सरकारलाई बधाई छ र सफल कार्यकालको लागि हाम्रो तर्फबाट हार्दिक शुभकामना ।






