काठमाडौं । एमाले-कांग्रेस गठबन्धन सरकारको अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्तिको चर्चासँगै सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार दैनिक कारोबार रकम साढे सात अर्बभन्दा माथि पुगेको छ भने नेप्से पनि ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा पुगेको छ । यस दिन कारोबार रकम ५३ करोड ९७ लाख रुपैयाँले बढेर सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० रुपैयाँ पुगेको हो । तीन सय नौ कम्पनीका दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता सेयर ९६ हजार दुईसय ७४ संख्यामा कारोबार भएका छन् ।
कारोबार रकम साढे सात अर्बभन्दा माथि पुगेको छ भने नेप्से पनि ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा पुगेको छ ।
कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेका छन् भने बैंकिङ सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ । हाइड्रोपावर ३.३०, उत्पादन तथा प्रशोधनमूलक २.६६, व्यापार २.२१ र जीवन बिमा २.०५ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमूलक, लगानी, म्युचुअल फण्ड, निर्जीवन बिमा र अन्यको इण्डेक्स एक प्रतिशत बढी र लघुवित्त ०.८२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा जानकी फाइनान्सको सर्वाधिक २४ करोड २७ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट २१ करोड २७ लाख, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर २० करोड ७५ लाख, नेपाल फाइनान्स १९ करोड १७ लाख, हिमालयन रि इन्स्योरेन्स १५ करोड १४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन रिडी पावर र माण्डु हाइड्रोपावरको क्रमशः सर्वाधिक प्रतिकित्ता सेयर मूल्य बढेर १८३.७० र १३५७.४० रुपैयाँ पुगेको छ भने हिमाल दोलखा हाइड्रोपावर ८.९३, अरुण भ्याली हाइड्रोपावर ९.३७ र जानकी फाइनान्सको ९.१६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्राइम बैंक डिबेञ्चर २०८४ को ४.१२ प्रतिशत, बलेफी हाइड्रोपावर ३.६८, एनआइसी एसिया सेलेक्ट फण्ड-३० को ३.०५, सप्तकोशी डेभलपमेन्ट बैंकको २.६८ र सिटिजन सुपर-३० म्युचुअल फण्डको इकाई मूल्य २.२७ प्रतिशतले घटेको छ । कारोबार कित्ताका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सर्वाधिक २० लाख ७५ हजार एक सय दुई कित्ता सेयर कारोबार भएको छ भने कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको दुई हजार नौ सय ९५ पटक कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजार उच्च अंकले बढेको थियो ।






