काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल हुनुहुन्छ । उहाँ मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो । उहाँको कान र अनुहारमा रगत देखिएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले घटनाबारे सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘एक सरसराहटको आवाज आयो । त्यसपछि गोलीको आवाज सुनेर मैले तुरुन्तै बुझेँ कि केही गलत भयो । तत्कालै गोली मेरो छालामा छोएर निस्क्यो ।’
हिंसाका लागि कुनै स्थान छैन : बाइडेन
राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । हृवाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले घटनापछि ट्रम्पसँग कुराकानी गर्नुभएको थियो । तर, के कुराकानी भयो भन्ने बारेमा खुलाइएको छैन । बाइडेनले पेन्सिलभानियाका गभर्नर जोश सार्पियो र बटलरका मेयर बोब डाण्डोयसँग पनि कुरा गर्नुभएको थियो ।
ट्रम्पमाथिको गोलीकाण्ड हत्या प्रयास : एफबिआई
अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले अमेरिकाका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको गोलीकाण्ड हत्या प्रयास नै भएको जनाएको छ । घटनाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एफबिआईका फिल्ड अफिसर केभिन रोजेकले यस्तो बताउनुभएको हो । अहिलेसम्म यो घटना ‘एक्टिभ क्राइम सिन’मा नै रहेको समेत उहाँले जनाउनुभएको छ ।
एकजना संदिग्धको गोली हानी हत्या
उक्त घटनामा एकजना संदिग्ध व्यक्तिलाई ‘युएस सिक्रेट सर्भिस’ का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको जानकारी उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले दिनु भएको छ । गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको जनाएको छ । सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दूरीमा भएको एफबिआईले जनाएको छ । एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ ।
घटनाको सर्वत्र निन्दा
घटनाको सर्वत्र निन्दा भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले घटनाको निन्दा गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै उहाँले भन्नुभएको छ, ‘हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।’ यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवान्लाई धन्यवाद भन्नुभएको छ । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गर्नुभएको छ । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्नुभएको छ । उहाँले एक्समा भन्नुभएको छ, ‘मेरा मित्र तथा पूर्व-राष्ट्रपति ट्रम्पमाथि भएको हमलाबाट निकै चिन्तित छु । घटनाको कडा निन्दा गर्दछु । राजनीति र लोकतन्त्रमा हिंसालाई कुनै स्थान छैन । उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाम्रो प्रार्थना मृतकका परिवार, घाइते र सबै अमेरिकी जनताका साथ छ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा