काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आहृवान गर्नुभएको थियो । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको थियो ।
ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको हो । संसद्का अन्य साना दलहरू जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ ।
राष्ट्रपतिको आहृवानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासहितको समूह शितलनिवास गएको थियो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले प्रचण्डले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।
संविधानको धारा ७६(२) वा (३) मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरू समेतको परामर्शमा संविधानको धारा ७६(२) बमोजिमकै सरकार गठनका लागि आहृवान गर्नुभएको छ । संविधानको धारा ७६(२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts