काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा जान थालेकाले कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ । बुधबार बसेको पार्टी सचिवालयको बैठकमा कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले देश अस्थिरतामा जानबाट रोक्न, राष्ट्रिय हितका लागि कांग्रेस र एमाले एकठाउँमा उभिएको बताउनुभएको हो । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले र माओवादी बीचको सत्ता गठबन्धन टुट्नुको कारणबारे एमाले अध्यक्ष ओलीले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो । जवाफस्वरूप अध्यक्ष ओलीले अस्थिरता मच्चाउने र दलगत स्वार्थलाई केन्द्रमा राखेर बार्गेनिङ गर्ने काम भएपछि त्यसलाई रोक्न कांग्रेससँग सहमति गर्नुपरेको जिकिर गर्दै भन्नुभयो, ‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, चार सिटलाई मुख्यमन्त्री चाहिने भयो । कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचार, अस्थिरतामा जाने काम भयो ।’ संघीयतालाई सफल बनाउनुपर्ने आवश्यकता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ, त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधान प्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन् ।’
प्रचण्डले सत्तामा जानबाट रोक्न पहल गरिरहेको आरोप
अध्यक्ष ओलीले एमालेलाई सत्तामा जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिरहेको समेत आरोप लगाउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्न पहल भइरहेको उहाँको आरोप छ । प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्नेगरी भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको जिकिर गर्नुभएका ओलीले भ्रष्टाचार, अस्थिरतालगायत स्वार्थप्रेरित काम देखिएको टिप्पणीसमेत गर्नुभयो ।
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : ओली
अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको जिकिर गर्नुभएको छ । अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अनुभवहरूले के-कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन ।’ नेपाली कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभएको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन । को–को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ, त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ ।’
नयाँ सरकार गठनमा संविधानको धारा ७६(२) बाधक छैन : एमाले
नेकपा एमालेले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले बुधबार संविधानअनुसार ७६(२) अनुसार सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अब असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र एमाले अध्यक्ष केपी शर्मा ओली सहजै प्रधानमन्त्री बन्ने पनि ज्ञवालीको जिकिर छ । कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतको नजिर पनि विश्वासको मत नपाए ७६(२) अनुसार नै सरकार गठनमा बाधा नपर्ने रहेको उहाँको तर्क छ ।
प्रधानमन्त्रीका विपक्षमा मतदान गर्न हृवीप
नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न हृवीप जारी गरेको छ । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई विपक्षमा मतदान गर्न हृवीप जारी गर्दै भन्नुभएको छ, ‘यही असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्नुहुन हृवीप जारी गरिएको जानकारी गराउन चाहन्छु ।’ एमालेले आफ्नो पार्टीका सांसदहरूलाई व्यक्तिगत ढंगले समेत हृवीप पठाएको छ ।
एमालेले नेताहरूलाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने
एमालेले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएको थियो । एमाले सचिवालयको बुधबारको बैठकले आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘हामीले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएका थियौँ । अब उहाँहरूलाई आफ्नै कार्यक्षेत्रमा फर्काइनेछ । नयाँ कार्य विभाजनको आधार अब केन्द्रीय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रूपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा त्योभन्दा माथि जिल्ला वा प्रदेशको पनि लिनसक्नु हुन्छ । सबैभन्दा आधारभुत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्य विभाजन गर्नेछौँ ।’
अध्यक्षबाहेक नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने
मिसन–८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ । सचिवालय बैठकले कार्य विभाजन गर्दा अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइनेसमेत निर्णय गरेको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘एक व्यक्ति, एक जिम्मेवारी नीतिका रूपमा निर्णय भएको छ । अब सरकारमा जानेहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने हुन्छ । एक व्यक्ति, एक जिम्मेवारी नीति पार्टी अध्यक्षलाई लागू हुँदैन । अध्यक्षबाहेक कसैले पनि दोहोरो जिम्मेवारी पाउने छैनन् ।’
प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको हृवीप
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन हृवीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।
हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो : प्रचण्ड
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले एमालेसँग सत्ता सहकार्य गरेको तर अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बुधबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे ब्रिफिङ गर्ने क्रममा प्रचण्डले एमाले अध्यक्ष ओली कांग्रेससँग मिल्दा माओवादीलाई घाटा भने नभएको जिकिर गर्दै भन्नुभयो, ‘हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौँ । केपी ओलीलाई नबुझेको थिएन तर मान्छे हो, हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम प¥यो । यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन ।’ ओलीलाई प्रधानमन्त्री पद नै चाहिएको भए आफूले तत्काल छोडिदिने तर वामपन्थी गठबन्धन कायम राख्न प्रस्ताव राखेको प्रचण्डले बैठकमा खुलासा गर्नुभयो । अध्यक्ष ओलीले जालझेल र षड्यन्त्र गरेको प्रचण्डको आरोप छ । बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एकजना सांसदले भन्नुभयो, ‘हामीले विश्वासको मत नपाएपछि धारा ७६(३) मा जान्छ, राष्ट्रपतिले त्यही गर्नुपर्छ र गर्नुहुन्छ भन्नेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो ।’
प्रधानमन्त्रीले सरकार छाड्नुहुन्छ : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो बेला प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको छ । संवैधानिक व्यवस्थाअनुरूप नै प्रधानमन्त्री प्रचण्डले सरकार छाड्ने विश्वास व्यक्त गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु उपयुक्त होइन, यस्तो गर्नुको राजनीतिक अर्थ पनि हुँदैन । संविधानमा भएको व्यवस्था र प्रक्रियाअनुसार नै प्रधानमन्त्री प्रचण्डले सरकार छाड्नुहुन्छ ।’ महामन्त्री शर्माले देशका दुई ठूला दल कांग्रेस र एमाले एकठाउँमा उभिएको तर आफूहरू मिलेर अन्य दललाई पेल्ने सोचमा नरहेको स्पष्ट पार्नुभयो । अब बन्ने एमाले नेतृत्वको सरकारलाई जस्तोसुकै संकट पर्दा पनि कांग्रेसले साथ दिने उहाँको दाबी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता