काठमाडौं । वर्षा सँगैको बाढी पहिरोमा परी पछिल्लो एक महिनामै ८३ जनाको ज्यान गएको छ । गत जेठ २८ गतेदेखि हालसम्म बाढी पहिरोमा परेर देशभरका विभिन्न ठाउँमा ८३ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी पहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको हो । बाढी पहिरामा परेर १०६ जना घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँचजना बेपत्ता भएको उहाँको भनाइ छ । यो तथ्यांक बुधबार सम्मको मात्रै हो ।
बाढी पहिरोका कारण ३८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । वर्षा र पहिरोका कारण ८५८ परिवार विस्थापित भएका छन् । बाढी पहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ । ४१ पुल बगाएको उहाँले बताउनुभयो । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार ९५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
देशभरका दुई दर्जन सडक अवरुद्ध
लगातारको वर्षा र बाढी पहिरोले देशभरका करिब दुई दर्जन सडक अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढी तथा पहिरोले देशभरका २३ वटा राजमार्ग पूर्ण अवरुद्ध भएका हुन् । देशभरका १४७ राजमार्गमध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडक दुवैतर्फ सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ । वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला-डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, उत्तर-दक्षिण सडक अन्तर्गतको संखुवासभाको खाँदबारी सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ । यस सडक खण्डमा बाढीले ठाउँठाउँमा क्षति पुर्याएको छ ।
यस्तै, डुम्रे-बेंशिसहर-चामे सडक खण्डको चिमांग, खरखरे भीर र उदीपुर दलाल खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । उत्तर-दक्षिण कालीगण्डकी लोकमार्गअन्तर्गत गुल्मीको बरल्वा, गुल्मीकै कनौटा र स्याङ्जाको रातोडाँडामा सडक अवरुद्ध छ । यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकखण्ड म्याग्दी र स्याङ्जामा पहिरोका कारण अवरुद्ध बनेको छ । भालुवाङ-लिवाङ-माडीचौर-दारबोट सडकखण्ड प्युठानको सिमलचौर, अधेरी खोला, खार्से खोला र गर्नेनी सडक अवरुद्ध बनेको छ । वर्तुङ-तानेसेन-रिडी-वामीटक्सार-खर्वाङ सडक खण्ड पाल्पाको अर्गेलीमा अवरुद्ध छ । यस्तै, बिपी राजमार्गअन्र्तगत बर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल सडक खण्ड काभ्रेपलाञ्चोकको चार सयमा अवरुद्ध बनेको छ । साँफेबगर-मार्तडी-कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ । सिद्धार्थ राजमार्गको बेलहिया-भैरवा-बुटवल-वर्तुङ, राम्दी-स्याङ्जा-पोखरा खण्ड स्याङ्जाको गैराथोकमा अवरुद्ध छ । कान्ति राजमार्ग सडक योजनाअन्तर्गत हेटौँडा-बागमती-टीकाभैरव-भैँसेपाटी-एकान्तकुना सडक ललितपुरको खरिवासमा अवरुद्ध छ । भालुवाङ-लिवाङ-माडीचौर-दारबोट सडक प्युठानमा अवरुद्ध छ । बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड स्याङ्जाको छानगढीमा पहिरोले अवरुद्ध बनेको छ ।
प्रभावित क्षेत्रमा खट्न भ्रातृ संस्थालाई कांग्रेसको निर्देशन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भ्रातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बाढी पहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भ्रातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसले उद्धार र राहतको कार्यमा सहयोग पु¥याउन निर्देशन दिएको छ । साथै, पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न पनि अपिल गरेको छ । कांग्रेसले नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । ‘यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसको माग छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता