काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातदेखि सुधारोन्मुख रहँदै आएको शोेधनान्तर बचत बढेर चार खर्ब २५ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुर्ई खर्ब २४ अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तथ्यांकमा उल्लेख छ ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय एक खर्ब १७ अर्ब एक करोड छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ३० अर्ब थियो ।
त्यस्तै २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर २०८१ जेठमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठमा २५.७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठमा ३०.२ प्रतिशतले बढेर १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । जेठमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै चालु खाता पनि दुई खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ । तर, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।
भ्रमणलगायतमा बाहिरियो झण्डै दुई खर्ब
चालु आर्थिक वर्ष ११ महिनाको अवधिमा खुद सेवा आय ५८ अर्ब छ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड थियो ।
त्यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय एक खर्ब १७ अर्ब एक करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ३० अर्ब रहेकोमा शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड थियो ।
१३ खर्बभन्दा बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको ११ महिना अवधिमा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बढेर नौ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार नौ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ५९ हजार पाँच सय १५ र दुई लाख ६० हजार दुई सय ६२ रहेको थियो ।
तीन प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि निर्यात २२.७ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४.५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फको निर्यात भने १.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोशाक, पिनालगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैंचा, ब्रान्स, चियालगायतको घटेको छ । २०८०/८१ को ११ महिनामा कुल वस्तु आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.० प्रतिशतले घटेको थियो । भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात भने ३४.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयर पार्ट, लत्ताकपडालगायतको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायतको आयात घटेको छ । सो अवधिमा कुल वस्तु व्यापारघाटा १.७ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो ।
मूल्यवृद्धि ४.१७ प्रतिशत
२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५, तराई ३.८२, पहाड ४.६३ र हिमालको ४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रको मुद्रास्फीति क्रमशः ७.१९, ६.९३, ६.२८ र ६.३९ प्रतिशत थियो ।






