
रुपन्देही । साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
कर्तव्य ज्यानको अभियोगमा मृत्युदण्ड सजाय पाएका धनुषाका यादवलाई बचाउन रुपन्देहीमा जुटाइएको ४६ लाख २५ हजार ‘ब्लडमनी’ परिवारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको रोहबरमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भयो।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्मा र धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने रामआशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्थेे । एउटै कम्पनीमा हुँदा दुवैजनाको कोठा पनि एउटै थियो । उनीहरुको खाने–रमाउने एउटै थलो थियो ।
त्यसैक्रममा सन् २०१८ सेटेम्बर ६ तारिख कोठामै रमाइरहेकै अवस्थामा धनुषाका रामआशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरी हत्या गरे । साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै रामआशिष यादवलाई तत्कालको लागि पाँच वर्षको कैद सजायको फैसला गर्यो। पाँच वर्षपछि दुवैजनाको परिवारको बीचमा ‘ब्लड मनी’ मा सम्झौता भए ठीक अन्यथा अन्तिम विकल्प रामआशिषलाई मृत्युदण्ड (फाँसी) को सजाय अदालतको फैसला थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको पत्नी सीता शर्मासँग माफीको अपेक्षासहित पुगे । ‘सुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वभाविक पनि हो । प्रजिअ अर्यालले भन्नुभयोे ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्यौं, मैले व्यक्तिगत रुपमै आँसु चुहाएरै आग्रह गरे ।’ प्रजिअ पैसाकै अभावमा कसैलाई मर्न दिनुहुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो ।
पीडित शर्मा परिवार सुरुमा ‘ब्लडमनी’ मा सम्झौता नगर्ने अडानमा थिए । केही जनप्रतिनिधि, व्यवसायी र प्रमुख जिल्ला अधिकारीलगायतको पहलपछि पीडित परिवार ५० लाखको ‘ब्लडमनी’ मा सम्झौता गर्न सहमत भए ।
यादव परिवारले ब्लडमुनी रकम जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ सहयोग जुटाउन अग्रसर हुनुभयो।
रूपन्देहीका ३० जना व्यवसायीले ३६ लाख २५ हजार, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ५० हजार, दुईजना सहायक प्रमुख जिल्ला अधिकारीले २५–२५ हजार, तीन सुरक्षा निकायका प्रमुख ७५ हजार रूपैयाँ जुटेको थियो । यादव परिवारले पनि १० लाख रुपैयाँ जुटाएपछि ४६ लाख २५ हजार ‘ब्लडमनी’ महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शर्माले मृतक दुर्गाकी पत्नी सीता शर्मालाई हस्तान्तरण गर्दै सम्झौता गराइएको छ ।
रामआशिष यादवकी पत्नी रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएको हुनुहुन्थ्यो । सबै मिलाई ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माको पत्नी सीता शर्मालाई नगदै हस्तान्तरण गरी रुपन्देहीले एउटा उदाहरण कायम गरेको छ । ब्लडमनी वापतको रकम बुझ्दा सीताको आँशु थामिएको थिएन ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनुहुँदैन भन्ने मान्यता रहेको र दुईटा घरलाई बचाउनका लागि यो प्रयास गरेका बताउनु भयो । यो पाँच वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यादव परिवारले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताउनु भयो ।
धनुषाका रामआशिसलाई नचिने पनि खबरको भरमा दुवै परिवारको उद्वार होस् भनेर यो अभियान चलाइएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले वताउनु भयो ।
जनकपुरबाट रुपन्देही आएकी आशिषकी पत्नी रेनो कुमारीले रुपन्देहीको सिडिओ आफ्नो परिवारका लागि भगवान बनेको बताउनु भयो । उहाले भन्नुभयो, ‘अब सिडिओसाबको फोटो राखेर पूजा गर्छु ।’
कन्सुलर विभागको आवश्यकताअनुसारका सबै कागजात र फारम भरेर बुधबार पठाउने तयारी भएको जिल्ला प्रशासनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच