काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत् पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्य निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारणसभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्य दिपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार वर्षका लागि निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक तथा बहालवाला अध्यक्ष हुनुहुन्छ भने आरम्भ चौतारी माइक्रो फाइनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक हुनुहुन्छ । साथै साधारणसभाले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीका उपकार्यकारी प्रमुख अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिनुभयो ।
बुटवलमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बिमाको पहुँचमा ल्याउने उद्देश्यले घुम्ती बिमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ । घुम्ती बिमा सेवाका लागि कम्पनीका नेपाल बिमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनी अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले संयुक्त रूपमा मोबाइल भ्यानसमेत उद्घाटन गर्नुभएको थियो ।
मोबाइल भ्यानमार्फत् सर्वसाधारणलाई टोल छिमेकमा पुगेर तत्कालै बिमालेख उपलब्ध गराउने तथा बिमा दाबी प्रक्रियाबारेमा सचेतनासहितको सेवा कम्पनीले दिने ढुंगानाले बताउनुभयो । चैत ९ गतेदेखि औपचारिक रूपमा बुटवलबाट सेवा सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै एक दर्जन शाखा तथा उपशाखामार्फत् सेवा प्रदान गर्दै आएको छ । छोटो समयमै कम्पनीले सात लाखसम्मको सामूहिक तथा व्यक्तिगत दुर्घटना बिमा, ५० लाखसम्मको घर, सम्पत्ति र सवारीसाधन बिमा सेवा प्रदान गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता