विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको २०औँ वार्षिक साधारणसभाले शुभम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाबाट सञ्जीव सिग्देल प्रथम उपाध्यक्ष, रोमन कट्टेल द्वितीय उपाध्यक्ष, संयम श्रेष्ठ कोषाध्यक्ष, रितेश खनाल कार्यक्रम संयोजक, उत्कृष्ट भट्टराई लर्निङ सेसन संयोजक चयन भएका छन् ।
त्यस्तै, आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया सञ्चार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार, नवीन झुनझुनवाला सदस्य र संगीता धमला सचिवालय प्रमुखमा चयन भएका छन् ।
साधारणसभा उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबल अर्थतन्त्र निर्माण, आर्थिक विकास एवं स्थायित्वका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । औद्योगिक विकासका सन्दर्भमा युवाहरूले रचनात्मक सोचका साथ प्रारम्भ गरेको व्यापार व्यवसायले विश्व बजारमा एकाधिपत्य कायम गर्न सफल भएको उदाहरण दिँदै उहाँले युवाहरू देश विकासको मेरुदण्ड भएको बताउनुभएको थियो । युवा सीपलाई व्यवसायमा रूपान्तरण गरी प्रदेशलाई उद्यमशीलमैत्री बनाउन सरकारले स्टार्टअप, युवा, महिला तथा भिन्न क्षमता भएका व्यक्तिहरूको उद्यमशीलता प्रवद्र्धन गर्ने नीति लिएर अघि बढेको भन्दै प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको पनि कार्कीले बताउनुभयो ।
मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष भट्टराईले युवा परिवर्तनका संवाहक भएकाले आर्थिक समृद्धि र औद्योगिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । प्रविधिको बढ्दो विकास र प्रविधिसँंग सम्बन्धित स्टार्टअपमा युवाले पुर्याएको योगदान मध्यनजर गरी कुनै पनि अवसरबाट यस वर्गलाई वञ्चित नगर्न उहाँले आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष रञ्जित भगत्ले नवनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा मञ्चले उद्यमशीलता विकासका सन्दर्भमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष साहरा जोशीले सन् २००३ मा स्थापित मञ्चको हाल ११ च्याप्टरमा एक हजारभन्दा बढी युवा उद्यमी आबद्ध रहेको बताउँदै आगामी दिनमा अन्य शहरमा समेत विस्तार गरी युवा लक्षित कार्यक्रम गर्दै लैजाने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेलले नवनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता