✍️ ओम आचार्य
कांग्रेस सभापति देउवा र केपी ओलीको भेटले राजनीतिक तरंग पैदा गरेको छ । त्यो तरंगले गठबन्धनको सरकार भंग भएर कांग्रेस र एमालेको गठबन्धन सरकार बन्नेमात्र होइन माओवादी र अरू सा-साना दललाई विपक्षमा पुर्याउने कांग्रेस र एमालेको रणनीति हो भनेर भन्न थालिएको छ । बहुदलीय व्यवस्थामा दलको संख्यालाई नियन्त्रण गरेर तीन अथवा चार दलमात्रै बनाउने यी दुई दलको सोच पनि रहेको छ । वर्तमान संविधानमा निवार्चन प्रणाली र समानुपातिक लगायत विषयमा संशोधन गरेर देशमा तीन या चार दलको अवधारण ल्याउने गरी गृहकार्य गर्नेसम्म यी दुई दल पुगेको हुनसक्ने देखिन्छ ।
यो यस्तो अवस्था वर्तमान संसद्मा उपस्थित दलको संख्या र ती दलबाट भएका राजनीतिक क्रियाकलापबाट यो स्थितिमा पुग्न बाध्य बनाएको र साथै वर्तमान राजनीतिक अवस्थाले गर्दा पनि कांग्रेस र एमाले तीन या चार दलमात्र हुनेगरी संविधानमा संशोधन हुनुपर्ने निष्कर्षमा पुग्नुलाई गठबन्धनको आवश्यकता बताउन थालेका छन् । अहिले राजनीतिक चर्चामा आएजस्तै कांग्रेस-एमालेको गठबन्धनको सरकार बनाउने सम्वाद चलिरहँदा यो गठबन्धन कथंकदाचित भएमा पहिलो चरणमा एमालेका केपी ओलीलाई प्रधानमन्त्रीमा स्वीकार गरिने कुरा कांग्रेसबाट आएको छ ।
जसरी पनि माओवादीका प्रचण्डको नेतृत्वको सरकार विस्थापित गराउन कांग्रेस देखिएको छ । यो कुराको संस्थापन इतर सुरुदेखि नै विरोध गर्दै आइरहेको भए पनि सभापति देउवा सहमत नदेखिएकोमा विलम्ब भएको हो । अहिले देउवा आफैं अग्रसर भएर कांग्रेस-एमालेको गठबन्धन गराउन सक्रिय भएका मात्र होइन केपी ओलीलाई प्रधानमन्त्री स्वीकारसमेत गर्ने मनस्थितिमा पुगेका छन् ।
संसद्मा ठूलो दल कांग्रेस
संसदभित्र ठूलो दलको हैसियतमा रहेको कांग्रेस कहिले माओवादीलगायत अन्य दलसँग गठबन्धन गरेर प्रचण्डको नेतृत्वको सरकारलाई स्वीकार्न पुगेको थियो । अहिले ठूलो दल भएर पनि प्रतिपक्षमा बस्नसम्म बाध्य भएको छ । अहिले आएर फेरि कांग्रेस एमाले गठबन्धन गरेर एमालेकै नेतृत्व स्वीकार्नुपर्ने अवस्था छ । बिग पार्टी भएर कांग्रेस देशको राजनीतिमा किन यसरी निरीह र विवश बन्दै छ ? कांग्रेसभित्र यस विषयमा राजनीतिक बहस भएको छ ? छैन भने बहसको आवश्यकता महसुस किन गरेन ? देउवा सभापति रहेको कांग्रेसले लिएको विचार नीति के बुढो र क्रियाशील हुन नसकेको हो ? रूपान्तरण पुस्तान्तरणको कुरा पनि हाल ओझलमा परेको छ ।
अहिले गरिने भनिएको कांग्रेस र एमालेको गठबन्धन कांग्रेसको विवशता र निरीहता हो भन्ने बुझेका केपी ओलीले कांग्रेसको मानमर्दनमात्रै होइन यो गठबन्धनमा मैले जे गरे पनि जस्तो निर्णय गरे पनि कांग्रेस मुकदर्शक हुनेछ भन्ने रहेको छ ।
संस्थापन इतर पनि आफू र आफ्ना सहयोगीहरू आफूलाई नै रूपान्तरण गरेर देउवाकै लाइनमा देउवालाई नै सहयोग पुग्नेगरी आत्मालोचन गरेर परिमार्जित हुन थालेको जस्तो देखिँदै छ । संसद्मा ठूलो दलको हैसियतमा रहेको कांग्रेस पहिलो चरणको एमाले कांग्रेस गठबन्धन वार्तामा लार्जेस्ट पार्टीको हैसियतले त्यही धारा पक्डेर गठबन्धन गरौं भन्ने कांग्रेस आज एमालेको नेतृत्वमा सरकार निर्माण गर्ने बाध्यतामा पुग्नुलाई कांग्रेस निरीह र विवश बन्दै गएको भन्नुपर्छ । अहिलेसम्म कुनै पनि गठबन्धनको नेतृत्व लिएको प्रमुखले सत्ताहस्तारण गरेनन् ।
नेपालमा अहिलेसम्म जति पनि दलहरूबीच गठबन्धन भए गठबन्धनको नेतृत्व लिएको सरकार प्रमुखले सहमति अनुसार अर्को दललाई सत्ता हस्तान्तरण गरेको देखिँदैन । एकीकृत नेकपाको सरकार हँुदा पनि सहमति अनुसार सत्ता हस्तान्तरण नहुने यकिनमा पुगेका प्रचण्ड कांग्रेससँग गठबन्धन गर्न पुगे केपी ओलीले सत्ता हस्तान्तरण गरेनन् । कांग्रेस र माओवादी दलको पनि गठबन्धन हुँदा माओवादीले सहमतिविपरीत जाँदै एमालेसँग गठबन्धन गरे । सत्ता हस्तान्तरण गरेनन् ।
सत्ताहस्तान्तरण गर्न कुनै पनि दल सहमति अनुसार गएको देखिँदै गएको र यस्तो विकृत राजनीतिक चरित्र दलहरूमा दलहरूको प्रमुख विकसित भइरहेको छ । जसरी हुन्छ प्रधानमन्त्री बन्ने र त्यसपछि सहमति अनुसार आफ्नो दलबाट प्रधानमन्त्री बन्ने यस्तो राजनीतिक संस्कार र प्रवृत्ति हुर्केको गठन्धनले कहिले निष्ठा र सिद्धान्तको राजनीति गर्छ ? यस्तै चरित्र र प्रवृत्ति बोकेको राजनीतिक दलसँग कांग्रेसले गर्ने गठबन्धनमा केपी ओलीले सहमति अनुसार सत्ता हस्तान्तरण गर्छन् भन्नेमा कांग्रेस विश्वस्त हुनु आश्चर्य हो ।
कांग्रेसका लागि ओली भरपर्दो होइनन्
कांग्रेसले जुन उद्देस्यले एमालेसँग गठबन्धन गर्न चाहिरहेको छ के त्यो अभिष्ट एमालेका केपी ओलीबाट पूरा हुन्छ ? संविधान संशोधन, निर्वाचन प्रणाली र समानुपातिक र मुलुकमा तीन या चार दलमात्र हुने व्यवस्था गर्न ओलीले कांग्रेसलाई साथ दिन्छ र केपी ओलीपछि कांग्रेसले नेतृत्व लिने सहमतिमा बन्ने गठबन्धनमा केपी ओली अक्षरशः मान्न तयार छन् ? एकीकृत नेकपा हुँदा पनि ओलीको अरूलाई डोमिनेट गर्ने र सहयात्री दलको मानमर्दन गर्नै शैली थियो र अद्यावधि छ ।
केपी ओलीसँग गरेको कुनै पनि राजनीतिक दलको गठबन्धनले स्थिर सरकार दिन नसकेको मात्र होइन सुशासन पनि दिन सकेको थिएन । त्यतिमात्र होइन केपी ओली प्रधानमन्त्री हुँदा संवैधानिक निकायहरू समेत आफ्नो मातहतमा राखेर अधिनायकवादी चरित्र देखाइसकेका छन् । लोकतन्त्रमा सुशासन हुनैपर्छ त्यो तत्कालीन केपी ओलीबाट नभएको जग जाहेर छ र कांग्रेसले केपी ओलीको अधिनायक प्रवत्तिको विरोध पनि गरेकै हो ।
अहिले गरिने भनिएको कांग्रेस र एमालेको गठबन्धन कांग्रेसको विवशता र निरीहता हो भन्ने बुझेका केपी ओलीले कांग्रेसको मानमर्दनमात्रै होइन यो गठबन्धनमा मैले जे गरे पनि जस्तो निर्णय गरे पनि कांग्रेस मुकदर्शक हुनेछ भन्ने रहेको छ । अहिलेको आवश्यकता भनेको कांग्रेस एमालेको गठबन्धन नै हो यसमा दुई मत छैन तर कांग्रेसले गठबन्धन गर्दा कसरी गर्ने दुई दलमा कस्तो नीति बनाउने सरकार सञ्चालनमा दुई दलको भावना र विचारमा आँच नआउने, कसैको मानमर्दन नहुने गरी संविधान संशोधनमा कुन-कुन बुँदामा, निर्वाचन प्रणली, समानुपातिकलगायत विषयलाई प्रमुख एजेण्डा मानी लिखित रूपमा दस्ताबेज आउनुपर्छ । यस्तो लिखित दस्ताबेजमा सरकार प्रमुख र दुई दलका सभापति समेतमा लगाम राख्दै गठबन्धन गर्नु हितकारी देखिन्छ । यसबाट राजनीतिक इतिहासमा अभिलेख खडा होस् र स्थिर सरकार दिँदै सुशासन र विकास होस् ।






