काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन आगामी मौद्रिक नीति युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतामैत्री आउने संकेत गर्नुभएको छ । युवालाई उत्पादन र उद्यमसँग जोड्न सकेमात्रै देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन रोक्न सकिने पनि उहाँले बताउनुभयो ।
शनिबार राजधानीमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले भन्नुभयो, ‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ । तर, नेपाल जस्तो सम्भावनायुक्त देश विश्वमै कहीँ नभएको भन्दै आफ्नै देशमा फर्किएर उद्यम गर्ने युवाहरू पनि मैले भेटेको छु । उनीहरूले यहाँ कृषिमा राम्रो गरिरहेका छन् । देश सम्भावनाले भरिपूर्ण भए पनि केही साना-साना कुरामा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायनको अवस्था आएको हो ।’
फरक प्रसंगमा उहाँले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान रकम दुरूपयोग नभएको दाबी गर्नुभएको छ । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भएजस्तो दुरूपयोग नदेखिएको तर केही व्यक्तिबाट दुरूपयोग भएकोमा असुली प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो । सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान वितरण गरिएको उहाँको जिकिर थियो । गभर्नर अधिकारीका अनुसार हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएका छन् । त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका छन् । उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि उहाँले बताउनुभयो ।
पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थामा भने यस्तो समस्या नआएको भन्दै उहाँले विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने क्रम सुरु भएको बताउनुभयो ।
गभर्नर अधिकारीले साना किसान सशक्तीकरण गर्दै देशको कृषि क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सोही कारण साना किसान विकास लघुवित्तलाई सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकका साथै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्था, दातृ निकायलगायतले विश्वासका साथ सहयोग गर्दै आएको उहाँको भनाइ थियोे । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंक यस लघुवित्तको पनि नियामक निकाय हो तर अहिलेसम्म केही गुनासो सुन्ने गरेको छैन । अन्य बैंक तथा वित्तीय संस्थाका बारेमा राष्ट्र बैंकमा विभिन्न गुनासा आउने गरेका छन् । तर, यो लघुवित्तबारेमा नराम्रो कुरा सुन्नुपरेको छैन ।’ तथापि लघुवित्तले प्रदान गर्ने कर्जा सदुपयोगको अवस्थाबारे एकपटक अध्ययन गर्न उहाँले आग्रह गर्नुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘यो लघुवित्तले किसानलाई प्रदान कर्जा धेरै किसानले सही सदुपयोग गरेको पाइएको छ । म आफैं पनि विगतमा यस संस्थामार्फत् विभिन्न जिल्लामा स्थलगत अवलोकनका लागि जाने गरेको थिएँ । अहिले पनि विभिन्न ठाउँमा जाने क्रममा मिलेसम्म हेर्ने गरेको छु । किसानले यस संस्थाकै कारण कृषि क्षेत्रमा धेरै राम्रो प्रगति गरेको पाएको छु ।’
तर, राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको दाबी गर्नुभयो । कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीभन्दा पनि टाठाबाठाले पहुँचका आधारमा दुरूपयोग गरेको उहाँको भनाइ थियो । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको र नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरूले लगानी गर्न नचाहेको पनि उहाँले बताउनुभयो ।
साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आन्तरिक उत्पादन बढाउन ठूलो योगदान गरेको उहाँको भनाइ थियो । साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको र देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उहाँले जानकारी गराउनुभयो ।
हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसंख्यामा सेवा पुर्याएको, कृषि प्रविधि सिक्न युवालाई इजरायलमा पठाएको र उनीहरू स्वदेश फर्किएर कृषि कर्ममा लागेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको, किसानलाई भारतलगायत देशमा अवलोकन भ्रमण गराएको कोइरालाले बताउनुभयो ।
सो अवसरमा संस्थाले देशभरबाट दुई कृषि सहकारी संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा