काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीचको दौंत्य सम्बन्ध झण्डै आठ दशकदेखि रहँदै आएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले विगत ६३ वर्षदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।
य्ुएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत् १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्याएको र थप ५० लाख महिलाले विभिन्न कार्यक्रममार्फत् अप्रत्यक्ष रूपमा लाभ लिएका युएसएडले जनाएको छ । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा साढे एक अर्ब अमेरिकी डलर अर्थात् एक खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।
नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा युएसएड लर्निङ फर डेभलपमेन्ट आउटरिच क्याम्पिन आयोजना गरिएको छ । जसको पहिलो कार्यक्रम शुक्रबार कपिलवस्तुको वाणगंगा ४ हटियाको आयोजना गरिएको हो । हटिया भनेको स्थानीयस्तरमा लाग्ने हाटबजारजस्तै जमघट हो । उक्त कार्यक्रममा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति गर्नुका साथै विभिन्न खेल प्रतियोगिता भएका थिए भने युएसएडले नेपालमा गरिरहेको सहयोगबारे जानकारी दिइएको थियो ।
आउटरिच क्यापियनअन्तर्गत शनिबार बुटवलमा पनि कार्यक्रम सम्पन्न भएको छ भने आइतबार दाङको लमही, सोमबार बाँकेको कोहलपुर र मंगलबार नेपालगञ्जमा कार्यक्रम हुँदैछन् । काठमाडौंका विभिन्न स्थानमा कार्यक्रम गरेर यात्रा समापन गरिने आयोजकले जनाएको छ । युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी सक्रिय परियोजना सञ्चालन गर्दै आएको जनाएको छ ।
युएसएडका अनुसार नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६) मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका थिए । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यस्तै कोरोना समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । युएसएड सहयोगबाट मुख्य गरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरतादर र औसत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता