काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रिय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताउनु भयो ।
उहाँले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निस्कर्ष निकालेको बताउनु भयो । उहाँले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको बताउनु भयो ।
उहाँले पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष रहेको बताउनु भयो । उहाँले बैठकले पदाधिकारी नयाँ चयन भइ नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको छ । वृहत समीक्षा पछि गरिनेछ । आजको बैठकले केही निस्कर्ष निकालेको छ । हाम्रो महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको छ । कार्यक्रमहरु राम्रोसँग सम्पन्न भएका छन् । समूहगत छलफलमा प्रतिनिधिहरुले उत्साहपूर्ण ढंगले छलफल गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । यसका कारणले देशव्यापी रुपमा कार्यकर्तामा धेरै ठूलो उत्साह पैदा भएको छ । यो महाधिवेशनले अनेकौँ आशंका चिर्दै बिद्रोहबाट निर्माण भएको पार्टीको सम्पूर्ण काम, गतिविधि, क्रियाकलाप र नीतिहरुको अनुमोदन गरेको छ । पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष रहेको छ । अहिलेको अन्तरिम अवस्थामा पदाधिकारी नयाँ चयन भइ नसकेको तर हाम्रा पुराना पार्टीका दैनिक कामलाई पुरानो कमिटीले सञ्चालन गरिरहको दैनिक काम पुनः सञ्चालन गर्नुपर्ने, यसका बैंक खाताहरु सञ्चालन गर्नुपर्ने, प्रत्येक दिनका दैनिक काम व्यवस्थापन गर्न आज भन्दा अगाडि जुन जुन जिम्मेवारी जसले जसले लिएका थियौँ त्यही त्यही जिम्मेवारी तिनै व्यक्तिलाई अन्तरिम अवस्थाको लागि त्यो अधिकार प्रयोग गर्न दिइएको छ । कमिटीलाई पूर्णता दिन थप छलफल गर्नुपर्ने भएकाले भोलि ११ बजे बैठक बस्नेछौँ । २९९ केन्द्रिय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउनेछौँ ।’
बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालाई नै समर्थन र विश्वासको मत दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारको विषयमा हामीले भनेका छौँ । अहिलेको जुन गठबन्धन भएको छ, अपर्झट जसरी बनेको छ, यो दुई वटा फरक फरक सिद्धान्त बोकेका फरक फरक मान्यता बोकेका दलहरु जुन मिलेका छन्, यसले एउटा चरम अवसरवादको जुन खालको स्थिति देखिएको छ, त्यसो भएको हुनाले हामी अहिले यसका सबै कुरालाई नजिकबाट नियालीरहेका छौँ । अहिलेको वर्तमान सरकारमा नै छौँ । यसलाई विधिसम्मत ढंगबाट प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नु भएको छ, त्यसमा सहभागी हुन्छौँ । दक्षिणपन्थी अवसरवादी चरित्र यसमा देखियो ।’
उहाँले पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिबाट नियालिरहेको जिकिर गर्नुभयो । केन्द्रिय समितिको बेठक आईतवार पुनः बस्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता