
काठमाडौं । कार्यसमिति र पदाधिकारी नटुंग्याएरै नेकपा एसको दशौँ महाधिवेशन सकिएको छ । २९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट ९३ जना मात्रै चयन भएका छन् । पदाधिकारीमा तीन जनाको मात्रै टुंगो लागेको छ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन हुनुभएको छ । नयाँ थपिएको वरिष्ठ उपाध्यक्षसहित अरू पदाधिकारीको टुंगो लाग्न सकेन । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालले दाबी गर्नुभएको थियो । तीनै जना वरिष्ठ उपाध्यक्षको दाबीबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । ९३ जना केन्द्रीय सदस्यहरूले भने पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सबै केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराउनुभयो । २९९ सदस्यीय केन्द्रीय कमिटीका बाँकी सदस्य १० दिनभित्र चयन भइसक्ने दाबी एसका नेताहरूले गरेका छन् । महाधिवेशनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।
नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर कांग्रेस एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । महाधिवेशनबाट पारित १९ बुँदे प्रस्तावमा कुनै सिद्धान्तबिना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भएको निष्कर्ष निकालेको हो । वर्ग संघर्ष सही दिशा र गति दिनका लागि समाजवादी क्रान्तिका लागि वामपन्थीहरू बीचको बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आहृवान गरेको छ । जनताको तहबाट उठेका सबै सामाजिक तथा सामुदायिक आन्दोलनहरूलाई वर्ग संघर्षसँग एकाकार गर्ने, मानव समाजमा देखिएका जाति भाषा, धर्म संस्कृति भूगोल, लिंग बीचको एकता भत्काउने र एकापसमा जुधाउने पुँजीवादी प्रयत्नका विरुद्ध सबैलाई एकजुट हुन महाधिवेशनले आहृवान गरेको छ । श्रमजीवी शिक्षक कर्मचारीको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित हुने कुनै पनि निर्णयप्रति सहमत हुन नसकिने पनि महाधिवेशनको निष्कर्ष छ ।
उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको बताउनुभएको छ । दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले बदलिएको राजनीतिक घटना क्रमहरूका कारण कुनै पनि पार्टी एक्लै हिँड्न नसक्ने बताउनुभयो । ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ हाम्रो माग भइरहेको छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्था छैन । हाम्रो पार्टीको आफ्नै भूमिका रहेको कुरालाई स्मरण गर्नुपर्दछ ।’ अध्यक्ष नेपालले एमालेसँग विद्रोह उचित र न्यायपूर्ण थियो भन्ने पुष्टि भएको भन्दै आफ्नो पार्टीको भूमिका मुलुकलाई सही दिशामा लैजानतर्फ केन्द्रित रहने बताउनुभयो ।
एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । खनालले नेपाली कांग्रेस र एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिनुभयो । कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिले एमालेभित्र भूकम्प गएको बताउनुभयो । उहाँले एकीकृत समाजवादीको विकास र विस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयोे, ‘हाम्रो पार्टीको विकास र विस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसाबले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवाद हाबी छ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनै पनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी तीन लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्ने छ । त्यो पार्टीभित्र व्यापक रूपान्तरणको अभियान चल्नेछ ।’ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनर्गठनको प्रक्रिया सुरुवात हुने बताउनुभयो ।
नेकपा एसलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा अघि बढाउनुपर्छ : भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको जिम्मेवारी आफ्नो काँधमा आएको दाबी गर्नुभएको छ । महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अब सबैभन्दा ठूलो र क्रान्तिकारी पार्टीको रूपमा अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यक्रम पारित गरेर ठूलो काम गरेका छौँ । त्यसपछि हामीले नेतृत्व पनि चयन गरेका छौँ मूलभूत रूपमा । यो महाधिवेशनले संकल्प गरेको र अभिलासा राखेको त्यो संकल्प पूरा हुने क्षणमा आएका छौँ ।’ विद्रोह गरेर आएकाले आफ्नो क्यारेक्टरका आधारमा लक्ष्य र उद्देश्यका लागि हर चिज त्याग्न तयार हुनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच