काठमाडौं । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अलखलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । उक्त ऋण लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जनाएको छ । लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने ४५ प्रतिशतभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । यसका बाबजुद लघु, साना तथा मझौला उद्यमले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।
सो अवसरमा ओपेक फण्ड अध्यक्ष अलखलिफाले भन्नुभयो, ‘नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यी क्षेत्रहरू दिगो आर्थिक वृद्धि र जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ ।’
त्यस्तै, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले भन्नुभयो, ‘यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत् त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभाव सम्बोधन गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नेछ ।’ उहाँले महत्वपूर्र्ण सहकार्यका लागि ओपेक फण्डलाई धन्यवाद दिँदै सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts