काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।
उहाँले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”
हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्नहुँदै उहाँले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । “संस्कृति नेपालीहरूको जीवनशैली र पहिचान पनि हो । त्यसैले इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
सरकारले प्रतिष्ठानद्वारा श्रष्टाको सम्मान गर्दै आएकोमा खुसी व्यक्त गर्दै स्रष्टाको सम्मान गर्ने परिपाटीले सम्पूर्ण संस्कृति र सिर्जनाको सम्मान गरिएको राष्ट्रपति पौडेलको भनाइ थियोे । उहाँले स्रष्टा सम्मान परम्परालाई नयाँ पुस्ताले अनुशरण गर्दै जानुपर्ने समेत सुझाव दिनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताउनुभयो । उहाँले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सदैव तयार रहनुपर्छ”, मन्त्री तामाङले भन्नुभयो, “यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ । यसका लागि सरकार सधैं प्रतिबद्ध छ ।” उहाँले सङ्गीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राख्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट छजना स्रष्टा पुरस्कृत हुनुभएको छ । रङ्गमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधाबाट तारा थापा, लोक सङ्गीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई जनही रु एक/एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।
प्रतिष्ठानका कुलपति निशा शर्माले प्रतिष्ठानको प्रेक्षालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको बताउँदै पर्यटनमन्त्रीसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements