कृष्णप्रसाद सुवेदी/हिटा
काठमाडौं । अल असर इन्टरनेसनल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाइसेन्स नम्बर १३७३ का सञ्चालक रहेका उद्धव बरालले संस्थागत रूपमा कामदार पठाउनुपर्नेमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएको भेटिएपछि विभागले छापा मारेको थियो । बरालले एलटी नम्बर फरक पारी/नराखी पूर्वस्वीकृति लिएको स्रोतले जानकारी दिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको र पासपोर्ट असुलिरहेको उजुरी र सूचनाका आधारमा विभागले छापा मारेको आधिकारिक स्रोतले पुष्टि गरेको छ । तर, यो विषयमा वैदेशिक रोजगार विभागका कर्मचारीहरूले बोल्न इन्कार गरे ।
अल असर इन्टरनेसनल प्रालिबाट छापा मारी पासपोर्ट विभागमा रहेको भन्दै केही रोजगारीमा जाने व्यक्तिहरू आफ्नो पासपोर्ट लिन विभागमा पुगेका थिए । वैदेशिक रोजगार ऐनको दफा ५२ मा इजाजत पत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाएमा त्यस्तो इजाजत पत्रवालालाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा इजाजत पत्र रद्द वा दुवै सजाय हुने उल्लेख छ । आयुस इन्टरनेसनल ओभरसिज सर्भिस प्रालिले दुबई मुलुकको रोजगारीका लागि सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गरेर ठगी धन्दा गरेको छ । प्रालिले डग हृयडन्लरको २२०० दिराम र डग ट्रेनरको ४००० हजार दिराम प्रतिमहिनाको तलबमानको नक्कली मागपत्र बनाई फेसबुकमा विज्ञापन गरी ठगी गरेको हो ।
लाइसेन्स नम्बर ६८८ आयुस इन्टरनेसनल प्रालिका सञ्चालक अमृत विश्वकर्मा हुन् । उक्त विज्ञापनपश्चात् निःशुल्क तालिमको वहाना बनाई तालिमको मात्र प्रतिव्यक्ति १० हजारदेखि ३० हजार उठाएर रोजगारीमा पनि नपठाएको पैसा र पासपोर्ट फिर्ता नगरेको भन्दै पीडित विभाग पुगेका छन् । करिब दुई दर्जन बढी नागरिकसँग रकम लिएको र तालिमको सर्टिफिकेट नदिएको रकम फिर्ता माग्दा तालिमको निहुँ बनाई ठगी गरेको सप्तरी दलौनपुर वडा नं. ३ का सञ्जीवकुमार मगरले जानकारी दिनुभयो । मगर आफू ठगिएको भन्दै वैदेशिक रोजगार पुग्नुभएको थियो । मगरका अनुसार आयुस इन्टरनेसनल ओभरसिज सर्भिस प्रालिले दर्जनौं युवासँग यसरी रकम असुलेका थिए ।
यसैगरी वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै सुमित्रा भट्टराई, रविकुमार जैसवाल र दीक्षा विश्वकर्मासँग करिब सत्ताइस लाख ९५ हजार ठगी गरेको आरोपमा शिवराम घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार ४१ लाख ९२ हजार पाँच सय दाबी गरी जाहेरी दर्ता गरिएको छ ।
ठगीमा संलग्न अन्य व्यक्तिहरूमा लिला पुवार, उमा जैसी, अजयकुमार श्रेष्ठ, कुमार ढकाल, बुद्धिकुमार विश्वकर्मा, नवराज खतिवडा, अजयकुमार श्रेष्ठ र प्रदीप रेलाले निजहरूबाट पटक-पटक गरी उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाई फरार भएको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता गराएका छन् । उनीहरूले सयौं युवायुवतीसँग करोडौं रकम असुलेर फरार भएकाले ठगिएका धेरै व्यक्ति आउन बाँकी रहेको पीडितले बताएका छन् ।






