✍️ ललिता साह
मधेसमा जन्मे-हुर्केर आवश्यक प्राज्ञिकता हासिल गरेर सप्तरीको भूगोलबाटै रहरले पत्रकारितामा आए म । आजको मितिमा व्यावसायिक पत्रकारको परिचय स्थापित छु । यिनै कलमजीवीको कलम र सामाजिक उत्तरदायित्व बोकेको एक नागरिकको नजरले थोरै समयमा बुझेको ख्वप : अर्थात् भक्तपुरबारे प्रारम्भिक बुझाइ साझा गरेकी छु । भनिन्छ, कुनै पनि देश र भूगोलको रक्षा गर्न त्यहाँको कला संस्कृति र मौलिक पहिचानलाई जोगाइराख्न जरुरी हुन्छ । विश्व सम्पदा सूचीकृत भक्तपुर दरबार स्क्वायर, न्यातपोल मन्दिर (पाँचतल्ले दरबार)लगायत सुन्दरताले सुसज्जित भक्तपुर शिक्षा, स्वास्थ्य, सम्पदा, पुनर्निर्माण र पहिचानको क्षेत्रमा उत्कृष्ट छ ।
विश्वभरिमा अति आधुनिकतावाद हावी भइरहँदा यो पाटो भनाइमा मात्रै सीमित नभई मानिसको अनुभूतिमा खड्किएको विषय हो । हाम्रोजस्तो मुलुकमा प्रविधि र तीव्र रूपमा भित्रिँदै गएको पश्चिमा संस्कृतिले हाम्रो पारिवारिक सामाजिक, सांस्कृतिक मौलिक पहिचान ओझेलमा पर्दै गएको छ । यी हराउँदा सुन्दर पक्ष जोगाउनुपर्छ । बढ्दो पारिवारिक विखण्डनले भत्काएको समाजदेखि हरेक सचेत नागरिक अभ्यस्त भएकै हो । दुनियाँमै उत्कृष्ट मानिएका नेपाल र भारतका जीवनशैली, पारिपारिक र सामाजिक सद्भावको पछिल्ला वर्षमा अभाव खड्किएकै हो ।
यस जिल्लाको प्रमुख आय स्रोतको रूपमा रहेको पर्यटनसँगै नेवारी खानाको व्यवसायीकरण, हस्तकला, काष्ठकला, कृषि, तरकारी खेती, वन पैदावारको संरक्षण र प्रवद्धन, होटेल व्यवसाय, अत्याधुनिक प्रविधिले चलेका इँटा उद्योग, कपडा उद्योगजस्ता ससाना उद्योग, डेरी उद्योगलगायत भक्तपुरको अर्थोपार्जनको स्रोत हुन् ।
यस अवस्थासम्म आइरहँदा अहिलेको र आउने पुस्तामा हामीले देख्न चाहेका अनुशासन, बरकरार पारिवारिक संरचनाप्रतिको सचेतना सामाजिकीकरणको प्रयास, प्रकृति÷वातावरणमैत्री विकासको अवधारणा, अर्थमितव्ययी गुणस्तरीय शिक्षा भक्तपुरको नगर÷शहर र बस्तीहरूमा आज पनि कायम छ । समाजिकीकरण, असल शिक्षाले जिल्लाको विकास र उन्नतिको सबै ढोका खोल्नेछ । यहाँको नेतृत्वले यस्ता मूलभूत घोषणापत्र लिखितमा मात्रै नभई जनताको संस्कारमा बाँड्न सकेका छन् ।
भारतको सन्दर्भमा गुजरातलाई विकासको मोडेल मानिन्छ किनकि त्यहाँका ९० प्रतिशत नागरिकको प्रत्येक घरघरमा व्यवसाय छन् र उद्योग गरेर देशलाई योगदान गरेका छन् । न कि सरकारी जागिरको भर परेर राज्य कोषबाट तलब खाएर बाँचेका छन् । यसर्थ राष्ट्रको जिडिपीमा उद्योग लाभकरको रूपमा देशलाई राम्रो आर्थिक योगदान गरेकाले गुजरातलाई विकासको मोडेल भनिएको हो । भनिन्छ, सरकारी जागिरले मर्न पनि दिँदैन धेरै अगाडि बढ्न पनि दिँदैन । यो वास्तविकता हेर्ने हो । कुनै व्यक्ति वा विश्वको उदाहरणकै रूपमा व्यवसाय र जागिरबीच तुलना गरिरहँदा विश्वको सम्पन्नताको मार्गचित्र वैश्विक व्यापार र उद्योगले सफल भएको छ ।
यो प्रसंग कोट्याइरहँदा संसारले नयाँनयाँ आर्थिक क्रान्ति र उद्योग नीतिहरू ल्याइरहँदा नेपालमा भएका उद्योगधन्दा वर्षौंदेखि बन्द र धाराशायी भइसकेको अवस्था छ । देशमा उद्योगधन्धा खोल्ने र आर्थिक क्रान्ति ल्याउने कुरा राजनीतिक, चुनावी एजेण्डा र सत्ताको खिचडीमात्रै बनिरहेका बेला भक्तपुर जिल्लाको घरघरमा घरेलु उद्योग हातहातमा स्थानीय पहिचान झल्काउने सीपले डलरमा दुनियाँभरको अर्थ भिœयाएको ताकत हेरेँ । भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले महत्पूर्ण स्थान ओगटेको छ । वर्षैभरि पर्यटक आउँछन् । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो ।
नगरपालिकाकै तथ्यांक हेर्न हो भन्ने आर्थिक वर्ष २०५०/०५१ देखि २०७९/०८० असार मसान्तसम्ममा कूल ४५ लाख ५२ हजार ८ सय २७ जना विदेशी पर्यटकहरूले भक्तपुर नगरको अवलोकन गरेर आर्थिक योगदान गरेको देखिन्छ । गत आर्थिक वर्षमा चीन र सार्क मुलुकका मात्रै ८१ हजार ३ सय १८ जना तथा गैरसार्क मुलुकका ८६ हजार ३ सम ३४ गरी कूल १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले सांस्कृतिक नगरी भक्तपुरको अवलोकन गरेका हुन् ।
प्रमुख आय स्रोतको रूपमा रहेको पर्यटनसँगै नेवारी खानाको व्यवसायीकरण, हस्तकला, काष्ठकला, कृषि, तरकारी खेती, वन पैदावारको संरक्षण र प्रवद्र्धन, होटेल व्यवसाय, अत्याधुनिक प्रविधिले चलेका इँटा उद्योग, कपडा उधोग, गलैँचा उद्योग, सुकुल र गुन्द्री उद्योग, साबुन, अगरबत्ती, चिप्स, अचारजस्ता ससाना उद्योग, डेरी उद्योगलगायत भक्तपुरको अर्थोपार्जनका स्रोत हुन् । यहाँको नागरिकमा हातमै भएको सीप र स्रोतसाधनबाटै आफ्नै घर, समाज, स्थानीय तथा बाहृय बजार प्रवद्र्धनमा योगदान गर्न उमेरले, शिक्षाले र लाजले छेकेको छैन ।
विद्यालयहरूमा संघीयता आइरहँदा पनि राजनीति भएको बिरलै पाइन्छ । हेडसरहरू विद्यालय भवन ठड्याउने ठेकेदारीमा व्यस्त छैनन् । उहाँहरू १० बजे आएर कक्षा लिने शिक्षकहरूको दैनिक कार्यतालिका बनाउन बिहान ७ बजेदेखि विद्यालयमा खटेका हुन्छन् । आफ्नो जागिरभन्दा बढी समय दिएर विद्यालयको शैक्षिक गुणस्तरीयता सुधारमा इमानदारीपूर्वक लागेको देखे ।
गृहजिल्ला छोड्दाको पीडा र पाएको अनपेक्षित साथ :
जीवनको तीन र पेशाको डेढ दशक पार गरिरहँदा समयसँगै पारिवारिक जिम्मेवारीले भक्तपुर बसाइँ सर्नु पर्यो । जिल्लामा मेरो पेशाको स्थायित्वको भूगोल एकाएक छोड्दा मेरा लागि सुरुका दिन सहज थिएन । नव वर्ष अर्थात् खुशी/उमंगको प्रतीक तर मैले २०८१ को आगमनसँगै मन अमिलो पार्दै परिवारसहित गृहजिल्ला छोडे । भक्तपुर आएर बसे । बच्चाहरूको नयाँ विद्यालय भर्नासँगै कक्षा सञ्चालन भइसक्ने तनावले निर्णय गर्ने धेरै समय थिएन । हामी दम्पतीको यो हतारको यो निर्णयमा मेरा अत्यन्तै सहृदयी सहकर्मी मित्र नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति र यसपूर्व कहिले परिचय नभएका पद्म उच्च माध्यमिक विद्यालय दरबार स्क्वायरका प्राचार्य : राम हाडाको कुशल सुझाव/अभिभावकत्व र अथक सहयोगले मेरो दुवै बच्चाको पढाइ र भक्तपुर बसाइको सुन्दर व्यवस्थापन समयमै गर्न सके ।
यिनै सद्भावको अपेक्षा र दोहोरो शुभभावनाको प्रतिबद्धतासहित यहाँहरू र भक्तपुरप्रति कृतज्ञ रहनेछु । यहाँको बस्ती ढलान छैन । यहाँ बनाइएका रोडहरू पानी सोस्न सक्ने छन् । पुराना इनारहरू मानव क्षति नहुने र पानीको स्रोत जोगाउन सक्ने तरिकाले संरक्षण गरिएको छ । मन्दिरहरू बनाउन कंक्रिट प्रयोग गरिँदैन । पोखरीहरूलाई पार्कको रूपमा विकास गरिएको छ । यसरी अध्ययन गर्दा भक्तपुरको एक–एक विकास वातावरणमैत्री छ । स्वास्थ्य, शिक्षा, रोजगारको दीर्घकालीन सोचले विकासको मोडेलको रूपमा भक्तपुर अघि सरेको छ । समयको बसाइले मैले देखेको विकासको अग्रगामी सोचसहित भक्तपुरले पहिल्याएको उदाहरणीय पक्ष लेखेको छु ।






