भक्तपुर । भोजपुर जिल्लामा पर्ने प्रसिद्ध दिङ्लाको षडानन्द संस्कृत पाठशाला र धरानस्थित चन्द्र संस्कृत विद्यालयमा लामो समय अध्यापन गरी नेपालको पूर्वी क्षेत्रमा शिक्षाको ज्योति छर्ने भीमप्रसाद गौतमको स्मृतिमा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ स्मारिकाको शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरियो । कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् नेपाल ऋषि डा.जगमान गुरुङसहित विशिष्ठ अतिथि र लेखकहरूले सामूहिक रूपमा सो कृतिको लोकार्पण गर्नुभएको थियो । आबाल ब्रहृमचारी षडानन्द प्रतिष्ठानको आयोजनामा सम्पन्न स्मारिका लोकार्पण कार्यक्रममा ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
तत्कालीन बेलाको संघर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात् गर्दै बहुआयामिक व्यक्तित्वको रूपमा पहिचान बनाउनुभएका गौतमको जीवनका अनेकौं आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा.गुरुङले बताउनुभयो । उहाँले पुस्तकले संस्कृति, संस्कारका साथै संघर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
पुस्तकमा समीक्षा गर्दै वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिंगो भोजपुरलाई बुझ्न सकिने बताउनुभयो । उहाँले त्यसबेलाको संघर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राख्नु भएको थियो ।
हिमालय टाइम्स राष्ट्रिय दैनिकका सम्पादक दाहालले भन्नुभयो, ‘भोजपुरमा आध्यात्मिदर्शन, धर्म, संस्कृति, शिक्षा र साहित्यको जागरणमा आबालव्रम्हचारी षडानन्द अधिकारी, सामाजिक रूपान्तरण र संघर्षकी प्रतिक योगमाया, साहित्य र अनुसन्धानमा ज्ञानमणि नेपालखेखि दैवज्ञराज न्यौपाने र स्वतन्त्रता आन्दोलनमा दीवान सिंह राई, रामप्रसाद राईहरू जस्ता व्यक्तिहरूको जन्मभूमि भएको पावन क्षेत्रमा भीमप्रसाद गौतमको समेत योगदान स्मरणीय छ ।’ जसको योगदान हुन्छ, सिर्जना र कृति रहन्छ त्यस्तो व्यक्ति सदा जीवन्त रहने हुनाले स्वर्गीय नभन्नसमेत दाहालको आग्रह थियो ।

साहित्यकार, लेखक तथा समीक्षक प्रा.डा.नन्दीशकुमार अधिकारीले भीमप्रसाद गौतमले समाज विकासदेखि रूपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम र प्रतिष्ठानका सचिव बद्रीविशाल भट्टराईले प्रतिष्ठानका गतिविधिहरूको चर्चा गर्दै प्रकाशित यस पुस्तकले परिवर्तनको सन्देश प्रवाह गरेको बताउनु भएको थियो । भीमप्रसाद गौतमका ज्येष्ठ सुपुत्र वरिष्ठ पत्रकार केशव गौतमले पुस्तक प्रकाशनको पृष्टभूमि र भविष्यमा गर्न सकिने कार्यहरू बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा स्मारिका प्रकाशनका लागि सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो । चार खण्डमा विभाजित कृतिमा जीवनी परक ६ वटा, संस्मरण लेख ५७, नेपाली र संस्कृत गरी ११ कविता र चौथोेमा परिशिष्ट समाविष्ट छ । कृतिमा गौतम वांवलीसमेत उल्लेख गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा