काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको दुई वर्ष पूरा भएको छ । पार्टी स्थापनाको छोटो समयमै राजनीतिको मूलधारमा स्थापित रास्वपाले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी दोस्रो वार्षिकोत्सव मनाएको छ । गत चुनावको मुखमा स्थापना भएको पार्टी पहिल्यै चुनावमा संसद्को चौथो ठूलो शक्ति बनेको थियो । २०७९ असार ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी रास्वपा घोषणा गरिएको थियो । स्थापनाको दुई वर्षमै अप्रत्यासित सफलता हात पारेको रास्वपाका आगामी दिन भने सरल र सहज नहुने विश्लेषण गर्न थालिएको छ ।
स्थापनाको दुई वर्षमै पुराना दलका पछि लागेर दुईपटक सरकारमा सामेल भएको रास्वपाले जनआकांक्षालाई सम्बोधन गर्न सकिरहेको छैन । उपप्रधान तथा गृहसहित रास्वपाका चार मन्त्री सरकारमा छन् । उनीहरूले मन्त्रालयमा सुधारको प्रयास गरे पनि जनतालाई महसुस गराउन सकेका छैनन् । स्थापनाको दुई वर्ष पूरा हुँदा रास्वपासँग त्यति ऊर्जा छैन, जति स्थापना कालमा थियो । त्यति जनविश्वास पनि छैन, जति पुराना दलबाट टाढै हुँदा थियो ।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेलाई विभिन्न विवादले पिछा गरिरहेको छ । नागरिकतादेखि राहदानी र पछिल्लो सहकारी प्रकरणसम्म आइपुग्दा रविको छवि केही धुमिलिएको छ । आफैँले गरेको कतिपय ‘बोल्ड’ घोषणाले उहाँलाई नै गिज्याइरहेका छन् । स्थापनाको एक वर्ष नबित्दै संसद्मा २१ सिट जितेर चौथो ठूलो दलको हैसियत बनाउनु चानचुने सफलता थिएन । सभापति लामिछाने प्रतिको आशा र भरोसाले नै जनताले आँखा चिम्लिएर मत दिएका थिए । पुरानाको विकल्प भन्दै उदाएको रास्वपाले कांग्रेस, एमाले र माओवादीभन्दा हामी फरक कित्तामा छौँ भन्ने महसुस गराउन सकेको छैन । वैचारिक रूपमा संघीयता र धर्म निरपेक्षताबारे स्पष्ट भएको छैन । संघीयताको मुद्दामा धरमर छ ।
स्वयं रास्वपा सभापति लामिछानेले आफूहरू भीरको बाटोमा हिँडिरहेको बताउनुभएको छ । ‘गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ,’ पार्टी स्थापनाको दिवसका अवसरमा उहाँले भन्नुभएको छ, ‘आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ । कैयौँ कठिनाइलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’
रवि सत्ताका लागि प्रचण्ड र ओलीसँग टाँसो लागेको समर्थकले रुचाएका छैनन् । रविलाई प्रचण्ड र ओलीले सत्ता स्वार्थका लागि संरक्षण दिए पनि त्यसले स्वयं रविलाई घाटा भएको धेरैको बुझाइ छ । चुनावअघि र लगत्तै तीव्र गतिमा गुडेको रविको राजनीतिक यात्रा हाल आएर सुस्ताएको छ । अझै कतिपयको शब्दमा त ओरालो यात्रामा छ । लामिछानेको लोकप्रियताको बलमा जति छिटो रास्वपा देशको चौथो शक्ति बन्यो त्यति नै छिटो अलोकप्रिय बन्ने बाटोमा लागेको छ । चुनावअघि आफैँले ‘नो नट अगेन’ भनेका नेताहरूसँग सम्झौता गर्न रास्वपा विवश छ । यसबाट बाहिर निस्किन सके मात्रै रास्वपाको आगामी यात्रा सहज हुने धेरैको अनुमान छ । अन्यथा अर्को चुनावमा जनताले फेरि भन्नेछन्, ‘नो नट अगेन’ जुन रास्वपाले गत चुनावमा भनेको थियो ।
रास्वपा कार्यालय वनस्थलीमा शीर्ष नेता
वार्षिकोत्सव समारोहमा अन्य दलका शीर्ष नेताहरू समेत रास्वपा कार्यालय वनस्थली पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरू रास्वपा कार्यालय पुगेका थिए । चियापानमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरू सहभागी भएका थिए । नेताहरूसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू समेत रास्वपा कार्यालय पुगेका हुन् । आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टीसमेत बजाएका थिए । रास्वपाको चुनाव चिहृन घण्टी हो ।
सांगठनिक संरचना दुई वर्षसम्म अपूरै
रास्वपाको सांगठनिक संरचना दुई वर्षसम्म अपूरै छ । रास्वपाको विधानमा संघीय निर्वाचन सम्पन्न भएको एक वर्षभित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्ने उल्लेख छ । त्यसअघि वडा, पालिका र प्रदेश अधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ । तर, अहिलेसम्म स्थानीयस्तरमै संगठन विस्तारको काम सकिएको छैन । आम निर्वाचनको डेढ वर्ष भइसक्दा रास्वपाको राष्ट्रिय महाधिवेशन कहिले हुन्छ टुंगो छैन ।
रास्वपा केन्द्रीय सदस्य गणेश कार्की दुई वर्षमै दुईपल्ट सरकारमा जानु गल्ती भएको बताउनुहुन्छ । कार्कीका अनुसार पार्टी नेतृत्वले चाहेको भए यो दुई वर्षमा पार्टीको संरचना बनिसक्ने थियो । दस्तावेज र चुनाव अगाडि भनेजस्तै चरित्र बनेको हुन्थ्यो । महाधिवेशनबाट पार्टीका सदस्यहरूले चुनेको नेतृत्व र समितिहरू आएका हुन्थे । ‘दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा दुईपल्ट सरकारमा पुगेका छौँ । पहिलोपल्ट मत परिणामको हुटहुटीले र दोस्रोपल्ट चाहिँ हुटहुटीमा हतार गरेर सरकारमा जानु गल्ती थियो भनेर आफैँले भनेको कुरा बिर्सिएकाले अहिले सरकारको १०० दिन पुग्दै गर्दा हामीसँग के छ ?’ केही दिनअघि सामाजिक सञ्जालमा प्रश्न गर्दै उहाँले भन्नुभएको थियो, ‘बन्दाबन्दै रोकिएको संगठन, फेरिँदै गरेको ठानिने पार्टीको चरित्र, मन्त्रीहरूले गोजीमा बोकेको राजीनामा पत्र, म्याद नतोकी सारिएको महाधिवेशन र सातो उडेका साथीहरू । अब पहिले आफैँले भनेका, लेखेका कुराहरू सम्झिएर, केहीबेर रोकिएर आफ्नो चरित्र के भनेका थियौँ, अर्कै भएको छ कि भनेअनुसारै भएको छ भन्ने हेर्न सबैलाई समय मिलोस् ।’
कैयौँ कठिनाइलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् लामिछानेले कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताउनुभएको हो । लामिछानेले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै अगाडि बढ्ने बताउनुभएको छ । ‘विश्वास गर्ने एक/दुईजना मात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौँ शुभेच्छुकहरू हुनुहुन्छ । दुई वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौँ विश्लेषकहरू आज रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही ‘टक सो’मा बोल्न घाँटी र टाई मिलाउँदै होलान्,’ उहाँले लेख्नुभएको छ ।
आफूहरू आफ्नो यात्रामा अविचलित रहेको सभापति लामिछानेको भनाइ छ । घण्टी सिंहदरबार पसेको भन्दै देशको मतपत्रमा सदाका लागि बसेको पनि उहाँको दाबी छ । ‘दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ । २१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँ,’ उहाँले भन्नुभएको छ, ‘बाँकी काम हामी गर्छौं, तपाईंहरू न चिन्ता लिनुस्, न पीर गर्नुस् । सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना ।’
पुराना शक्तिसँगै लाग्दा नयाँहरूलाई नोक्सान गर्छ : डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलहरूसँग अधिक नजिक नहुन र सन्तुलित सम्बन्ध राख्न सुझाव दिनुभएको छ । रास्वपा स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उहाँले पुराना दलसँगको सहकार्यलाई तत्कालको कार्यनीतिका रूपमा मात्रै लिन सुझाव दिनुभएको हो । ‘पुराना शक्तिहरू सँगको सहकार्यलाई ट्याक्टिस, तत्कालको कार्यनीतिको रूपमा लिनुपर्छ । वैकल्पिक नयाँ शक्तिहरू सँगको सहकार्य र देशलाई साँच्चै विकल्प दिनका निम्ति स्ट्राटेजी (रणनीति) बनाउनुपर्छ,’ उहाँले भन्नुभएको छ, ‘यसमा सन्तुलन भयो भने ठीक हुन्छ, नत्र पुराना शक्तिहरूसँग नै बढी लसपस गर्न थालियो भने त्यसले स्ट्राटेजीमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ ।’
जनताको आशा भरोसा जगाइराख्ने हो केही बोल्ड निर्णय गरेर जानुपर्छ : प्रवक्ता ढकाल
रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी जोगाउने र जनताको आशा भरोसालाई पूरा गर्ने हो भने ‘बोल्ड डिसिजन’ गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । रास्वपा स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै ढकालले रास्वपा जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि आफूहरू खडा भएको उल्लेख गर्नुभएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौँ । यो प्रश्न आइसक्यो, र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौँ भने हाम्रा गाह्रा दिन सुरु भए,’ उहाँले भन्नुभएको छ ‘पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किँदैनौँ ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts