काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन भएको छ । उहाँको शुक्रबार विहान निधन भएको हो । प्रजातान्त्रिक आन्दोलनमा २०१८ सालदेखि सक्रिय हुनुभएका श्रेष्ठ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापकमध्येका एक हुनुहुन्थ्यो । उहाँ नेविसंघ गठनदअघिनै त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्ष हुनुभएको थियो ।
२०३२ सालमा काठमाडौं नगर पञ्चायतको सदस्य बन्नुभएका उहाँ विसं २०३६ सालपछि बहुदलका पक्षमा सक्रिय रहनुभयो । विसं. २०४३ सालमा ‘भाले’ चुनाव चिहृन लिएर राष्ट्रिय पञ्चायतको चुनाव लडनुभएका उहाँ २०४६ सालको जनआन्दोलनको पर्दापछाडिका सूत्रधारमध्येका एक हुनुहुन्थ्यो । विसं २०४९ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उहाँलाई समाजकल्याण परिषद्को उपाध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।
विसं २०७२ को भूकम्पपछि काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानको नेतृत्व गरेर उहाँले मूर्त र अमूर्त सम्पदा संरक्षणप्रति जागरण पैदा गर्न विशेष योगदान गर्नुभएको थियो ।
श्रेष्ठको निधनमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता