नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ७२ करोड बजेट ल्याएको छ । बुधबार गाउँपालिकाले १६औँ गाउँसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै ७१ करोड ७९ लाख ३४ हजार रकम बजेट ल्याएको हो । चालुतर्फ ४७ करोड ४७ लाख १० हजार र पुँजीगततर्फ २४ करोड ३२ लाख २४ हजार रहेको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ३८ लाख, सशर्त अनुदान चालु २४ करोड ५२ लाख ३४ हजार, सशर्त अनुदान पुँजीगत तीन करोड ४८ लाख, विशेष अनुदान एक करोड र समपूरक अनुदान एक करोड ५० लाख रहेको छ । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९४ लाख २९ हजार र समपूरक अनुदान ७० लाख आम्दानी प्राप्त रहेकोे छ । त्यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने आम्दानी संघीय सरकारबाट ११ करोड तीन लाख, प्रदेशबाट ५३ लाख ९५ हजार र स्थानीय सरकारबाट ५० लाख रहेकोे प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी दिनुभयो ।
प्रतापपुर गाउँपालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ १० करोड ४५ लाख तीन हजार, सामाजिक विकासतर्फ २९ करोड १२ लाख १३ हजार, पूर्वाधार विकासतर्फ १९ करोड १८ लाख ५६ हजार, सुशासन तथा अन्तरसम्बन्धिततर्फ एक करोड ४४ लाख ६२ हजार र कार्यालय व्यवस्थापन र प्रशासनिक खर्चतर्फ ११ करोड ५९ लाख क्षेत्रगतरूपमा वर्गीकरण गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पशु, पूर्वाधार विकास, युवा तथा खेलकुद, लैंगिक समावेशी तथा सामाजीकरण, पर्यटन विकास, सामाजिक विकास र पालिकालाई सुशासन तथा जनउत्तरदायी जस्ता कार्यक्रम प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
पालिकाले नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिएको छ । प्रतापपुरमा किसानलाई कृषि विद्युतीकरण गर्ने र उखु हार्भेष्टर मेसिन, कृषि प्रयोगशाला निर्माण गर्ने, कृषि तथा ऊखुजन्य सामग्री बिक्रीका लागि कृषि बजार निर्माण गर्ने, गाउँपालिकालाई केरा र कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने, किसानको उन्नति प्रतापपुरबासीको प्रगति भन्ने मूल नारासाथ प्रतापपुर गाउँपालिका अघि बढेको अध्यक्ष यादवले बताउनुभयो । १६औँ गाउँसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव (रुदल)ले प्रतापपुर गाउँपालिकाको नीतिअनुसार कार्यक्रम र कार्यक्रमअनुसार बजेट ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति कार्यक्रम राम्रो छ । कार्यान्वयन गर्न सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी लाग्नुपर्छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता