काठमाडौैं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराउनु भएको हो ।
जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिा नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।
यता सहकारी संस्थाको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ ।
बजेट विनियोजनप्रति सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले असन्तुष्टि जनाइरहनु भएको छ भने यता आज मात्रै प्रधानमन्त्री ‘प्रचण्ड’ ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गर्नु भएको थियो । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गरेको टिप्पणी गर्नुभएको थियो ।
यसै सेरोफेरोमा सत्तारुढ दलका तीन नेताहरूबीच छलफल चलिरहेकाले विशेष चासोका साथ हेरिएको छ ।







Good news.