स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ स्थित प्रसिद्द धार्मिक महत्व बोकेको राम्चे शितलादेवी मन्दिर तथा थानमा पहिलो पटक जिप पुगेको छ । गलेम देउरालीदेखि राम्चेदेवि थान मन्दिरसम्मको सडक ट्रयाक खोलिएको छ । अब राम्चे मन्दिरमा पूजाआजा गर्ने भक्तजनहरुले जीपबाट मन्दिरसम्म पुग्न सक्ने छन् ।
फेदीखोला वडा नं ४ वडा कार्यालयको ४ लाख बजेटमा यो सडक निर्माण भएको हो । करिब १.५ किलोमिटर दुरीको यो सडक ट्रयाक खोल्नका लागि पहिलेदेखि नै पहल भइरहे तापनि यसपटक वडा कार्यालयको तत्परतामा ट्रयाक खोलिएको हो ।
वडा कार्यालयको सहयोगबाहेक स्थानीयहरु तथा देश विदेशमा बस्नेहरुको सहयोग थपेर सडक निर्माण गरिएको हो । समाजसेवी मेजर दिल बहादुर गुरुङ, क्या. इन्द्रबहादुर गुरुङ, शशी पौडेल, देउबहादुर गुरुङ र सुवास लामिछानेको अर्थ संयोजनमा जनसहभागिताबाट उठेको रकम थप गरेर सडक ट्रयाक खोल्ने काम सम्पन्न भएको स्थानीय दीपक गुरुङले बताउनुभयो ।
भीरमाथिका गाउँहरु गलेम, रापु र खामोहालेको शिरमा अवस्थित यो मन्दिर समुन्द्री सतहबाट करिब २२०० मिटरको उचाइमा रहेको छ । निकै उचाइमा रहेको यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरु दर्शन गर्न आउने क्रममा बिरामी भएमा हेलिकप्टरबाट लानुपर्ने बाध्यता हटेको वडाध्यक्ष ख्यामनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वृद्ध, अपाङ्ग, अशक्तहरुका लागि मन्दिरमा जाने इच्छा भएर पनि पूरा भएको थिएन । सडक ट्रयाक खोलेपछि अब उहाँहरुको इच्छा पूरा भएको छ ।’
यो मन्दिरको सडक ट्याक खोलेपछि राम्चेदेवी सिलो सामुदायिक होमस्टेको प्रवर्धनमा सहयोग पुग्ने तथा यहाँ आउने भक्तजनहरुले होमस्टेमा बसेर प्रसिद्ध पर्यटकीय स्थल पञ्चासेसम्म पुग्न सकिने होमस्टेकी संयोजक तथा फेदीखोला कार्यपालिका सदस्य टेकमाया गुरुङ पूजाले बताउनुभयो ।
सडक ट्याक अवलोकन गर्न पुगेकी गण्डकी प्रदेश सदस्य सांसद सरस्वती गुरुङले घण्टौंसम्म हिँडेर मन्दिरमा पूजाआजा गर्न आउनुपर्ने कठिन अवस्था रहेकोमा सडक ट्रयाक खुलेर महत्वपूर्ण काम भएको भन्दै गण्डकी प्रदेशबाट पनि सडकको थप स्तरोन्नतिका लागि पहल गर्ने बताउनुभयो ।
सिदार्थ राजमार्गबाट ११ कि.मि.को दुरीमा अवस्थित यो मन्दिर फेदीखोला गाउँपालिकाकै प्रमुख प्रसिद्ध धार्मिक स्थल हो । यहाँ विजयादशमी तथा चैते दसैं र बालाचतुर्दशीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । यहाँबाट कास्की र स्याङ्जाका थुप्रै स्थानहरुको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा