✍️ कृष्णप्रसाद सुवदी
हाम्रो देशको पहिचान नै कृषि हो । हाम्रो सबैभन्दा ठूलो बाँच्ने आधार भनेको नै उत्पादन हो । संसारमा हामी कृषि, वन पैदावर र पानीले परिचित छौं हाम्रो माटो यति धेरै मलिलो छ कि जहाँ जे रोप्दा पनि उत्पादन हुन्छ तर अहिले हामी संसारकै गरिब मुलुकमा गनिन्छौं । हाम्रो विडम्बना कृषि खेती नभएर पासपोर्टको खेती गर्न हामी व्यस्त छौं जसले हामीलाई संसारको सबैभन्दा गरिब मुलुकको दर्जामा उभ्याइदियो ।
हामीले कुनै व्यवस्थालाई भन्दा व्यवस्था सञ्चालन गर्ने सञ्चालकलाई नै यसको दोषी ठहराउनुपर्छ । व्यवस्था जस्तोसुकै भए पनि त्यसका सञ्चालकहरू असल नियतका भए भने जनताले सुख पाउने हुन् र देशको विकास हुने हो । मैले २०४६ साल यताको व्यवस्थाको विरोध गरेको होइन तर खासगरी कृषिप्रधान देशमा पासपोर्टको खेती हुन थालेको २०४६ सालपछि नै हो । २०४६ देखि २०८१ को अवधिमा सबैभन्दा बढी हाम्रो देशका विकासको मेरुदण्ड मानिने युवायुवतीहरू आफ्नो भविष्य खोज्न विदेशिएका छन् । हालसम्मको तथ्यांकले कम्तीमा ६० लाखभन्दा बढी नेपाली युवायुवतीहरू संसारभरि छरिएर आफ्नो भविष्य खोजिरहेका छन् ।
स्वदेशमा बगाउनुपर्ने रगत र पसिना विदेशी भूमिमा बगाउन बाध्य छन् युवायुवतीहरू । चाहे ती पढेलेखेका हुन् या अनपढ । उनीहरूको घर नेपाल नै हो । उनीहरूले आफ्नै माटोमा रगत पसिना बगाउनुपर्ने थियो तर विडम्बना उनीहरूको रगत पसिना विदेशी भूमिमा बगिरहेको छ । सरकार यसैमा मक्ख छ । सरकारलाई रेमिट्यान्सले धानेको छ । रेमिट्यान्स बढाउनकै लागि आफ्ना नागरिकलाई कसरी छिटोभन्दा छिटो विदेशी भूमिमा पठाउने भन्ने योजनामा छ । त्यसैले पासपोर्ट कसरी छिटो दिन सकिन्छ, श्रम स्वीकृति कसरी छिटो दिएर नेपालको भूमि पार गराउन सकिन्छ भनेर दिनप्रतिदिन रटान नै छ सरकारको ।
सरकारसँग आफ्ना नागरिकलाई कसरी स्वदशमै रोजगारी सृजना गर्ने र राख्ने भन्ने नीति नियमहरू भएनन् । भएका नीति नियमहरू पनि कार्यान्वयनमा आएनन् । सरकारमा रहेका र सरकारबाहिर रहेका राजनीतिक दलहरूलाई विकास भनेको नै आफ्ना नागरिकलाई विदेश पठाएर कसरी रेमिट्यान्स भित्र्याउने भन्नेमात्रै चटारो छ ।
हामीसँग उर्वर भूमि छ । त्यस भूमिलाई कृषिमा प्रयोग गरेर देश विकासको खम्बा बनाउन सकिन्छ तर शासकहरूले आफ्नो भूमिभन्दा विदेशी भूमि नै उपयुक्त ठाने देश विकासका लागि । त्यसैले दैनिक हजारौंको संख्यामा हाम्रा कलिला युवायुवतीहरू विदेशिन बाध्य छन् । यो बाध्यता उनीहरूको रहर होइन । जति धेरै नेपाली नागरिक विदेशिए त्यति हर्षोल्लास छ सरकारलाई । यो नै सबैभन्दा ठूलो विडम्बना हो । संसारका हामीभन्दा गरिब मुलुकहरूलाई हाम्रै देशका नागरिकले सम्पन्न र धनी बनाए तर हामी झनै गरिबीको रेखामुनि घसारिएका छौं ।
सरकारसँग आफ्ना नागरिकलाई कसरी स्वदशमै रोजगारी सिर्जना गर्ने र राख्ने भन्ने नीति नियमहरू भएनन् । भएका नीति नियमहरू पनि कार्यान्वयनमा आएनन् । सरकारमा रहेका र सरकारबाहिर रहेका राजनीतिक दलहरूलाई विकास भनेको नै आफ्ना नागरिकलाई विदेश पठाएर कसरी रेमिट्यान्स भित्र्याउने भन्नेमात्रै चटारो छ । खाडीको ५० डिग्री तातो हावामा नागरिकहरू ब्राह्र घण्टा काम गर्न बाध्य छन् । हजारौंको संख्यामा मृत्यु भइसकेको छ । हजारौंको संख्यामा विदेशी जेलमा कोचिएर बसेका छन् । हजारौंंको संख्यामा अंगभंग भएका छन् ।
सरकारले ती अप्ठ्यारामा परेका आफ्ना नागरिकहरूलाई अभिभावकत्व दिन सकेको छैन । विदेशमा कार्यरत आफ्ना नागरिकलाई सहयोग गर्न बसेका दूतावासका कर्मचारीहरू नेपालीलाई अप्ठ्यारो परेको अवस्थामा उद्धार गर्ने संयन्त्र छैन राज्यसँग । उद्धार गर्नुपर्यो भने कागजात मिलेन, दूतावासबाट धेरै टाढा भएकोले उद्दारमा समस्या आयो भनेर आफ्नो उत्तरदायित्वबाट पन्छिने गरेका छन् । के अन्य मुलुकका कामदारलाई उनीहरूको सरकारले यस्तै व्यवहार गर्छ त ? यस्तै कार्यले गर्दा सरकारको गैरजिम्मेवारीपन प्रष्टिएको छ । संसारमा हाम्रो शिर निहुरिएको छ ।
हामी प्राकृतिक, सांस्कृतिक र सामाजिक रूपले संसारमा यति धेरै सम्पन्न छौं कि त्यो हामी आफैँले बुझ्न सकेनौं या बुझेर पनि वास्ता गरेनौं । हाम्रो माटोमा जस्तो प्रकारको, बालीनाली, फलफूल, बोटबिरुवा रोप्छौं, त्यो सबै उत्पादनशील छ । गाउँमा अहिले मलामी जाने मान्छे भेटिँदैन, खेतीबालीको त कुरै नगरौं । लटरम्म धान फल्ने खेतमा वनमासे, सिस्नो र झारपातले भरिएको छ । कोदो, मकै, गहुँ, जौ, तोरी फल्ने खेतबारी प्लटिङ गरेर घडेरी बनाइएको छ । जहाँ पहिला अन्न उत्पादन हुन्थ्यो । राजनीति गर्ने राजनीतिक दल र कुर्सीमा बस्ने सरकारलाई (इजीमनी) सजिलै कमाउने, आउने पैसा चाहिएको छ त्यसैले यहाँ पासपोर्टको खेती मौलाएको छ ।
गाउँदेखि शहरसम्म म्यानपावर एजेन्ट र म्यानपावर कम्पनीले भरिएको छ । सोझासाझा जनतालाई घरबाट बाहिर निस्केदेखि विदेशी भूमि पुग्दा र काम गर्दासम्म ठग्ने गरिएको छ । यो तितो यथार्थ हो । वैदेशिक रोजगारी होस् या अध्ययन, अध्ययापन गर्न जाने नेपाली नागरिकहरू हुुन्, उनीहरू अभिभावकविहीन भएका छन् । हामीभन्दा कम विकसित देशहरूले अहिले नेपाली कामदार लगेर विकास गरेका छन् । हामी उनीहरूले दुःख गरेर कमाएर स्वदेश पठाएको पैसाको रेमिट्यान्सको हिसाब गरेर बसेका छौं । अहिले देशको कुना कन्दरामा जन्मेर १८ वर्ष उमेर पुगेका युवायुवतीरु देख्न पाइँदैन । अब हामी कसरी विकासको कल्पना गर्न सक्छौं ? जुन सम्भव नै नभएको कुरा हो । विकासका लागि बलियो जनशक्तिको आवश्यकता पर्छ । त्यो जनशक्ति विदेश पलायन भइसकेको छ ।
हामीले आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउँछौं, उहाँहरूले विदेशमा रगत र पसिना बगाएर कमाएको पैसाले विदेशबाट खाद्यान्न आयात गछौं, लत्ता, कपडा, औषधिलगायत हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने सबै उपभोग्य वस्तु आयात गर्छौैं उताबाट आएको पैसा उतै फिर्ता गरिदिन्छौं ।
विदेशी भूमिमा गइसकेपछि उसले आफ्ना बालबच्चा र श्रीमतीलाई शहरमा ल्याएर बोर्डिङ स्कुल पढाउन शुरु हुन्छ । अब गाउँमा वृद्ध बाबुआमालाई पानी खान दिने मान्छे हुँदैन । रेमिट्यान्स यसैमा गाभिएको छ । विकृति, विसंगति यसैमा जोडिएको छ । गाउँका सरकारी स्कुल खाली छन, शहरका निजी विद्यालयहरूले पासपोर्ट खेतीको फाइदा लिएका छन् । शिक्षाको विरोध गर्न खोजिएको होइन, हाम्रा सबै नानीबाबुहरू राम्रो स्कुलमा असल शिक्षा लिन, पढ्न पाउनुपर्छ यसमा कसैको दुई मत छैन तर यसले हाम्रो पुस्तादेखि कति लामो दूरीसम्म समाज, संस्कृति, परम्परा र परनिर्भरतालाई पछाडि धकेल्छ र असर गर्छ भन्ने कुरा मुख्य विषय वस्तु हो । रेमिट्यान्सले गर्दा हाम्रो कला, संस्कृति, विश्वास, इमानदारीता सबै गुमेको छ । एकले अर्कोलाई विश्वास गर्ने अवस्था छैन अहिले ।
हामी संसारका सबैभन्दा धनी नागरिकमा गनिन्छौं । त्यो हाम्रो प्रकृतिले दिएको अकाट्य सम्पत्ति हो । हामीले त्यो प्राकृति सम्पत्तिलाई अरूलाई हस्तान्तरण गरेनौं भने संसारको कुनै देश र नागरिकले खोस्न सक्तैन । हामीले विदेशीलाई आफ्नो देशमा काम लगाएर, कजाएर खान सक्ने सम्पत्ति प्रकृतिले नै दिएको छ । गाउँका पाखा, पखेरा, खेत, बारीमा उब्जने अन्नले हामीलाई मात्र पाल्दैन विश्वका गरिब मुलुकका नागरिकलाई पनि पाल्न सक्छ ।
हामीले आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउँछौं, उहाँहरूले विदेशमा रगत र पसिना बगाएर कमाएको पैसाले विदेशबाट खाद्यान्न आयात गछौं, लत्ता, कपडा, औषधिलगायत हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने सबै उपभोग्य वस्तुहरू आयात गर्छौैं उताबाट आएको पैसा उतै फिर्ता गरिदिन्छौँ । विकल्पमा हामीसँग त्यही बाँकी रहन्छ-बाँझो वनमासे, सिस्नो र झार उम्रिएको खेत, बारी, समाप्त भएको हाम्रो संस्कृति, धर्म, परम्परा र विश्वासको संकट ।
वर्षमा हामीले अर्बौं रुपैयाँको खाद्यान्न, औषधि, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ लत्ताकपडा आयात गर्छौं । तर त्यो आयात गर्ने सबै सामग्री हाम्रै उत्पादन हुन्छ भन्ने हामीलाई विश्वास छैन । हामीलाई पासपोर्ट खेती गर्दा टेलिफोनकै भरमा भरपुर पैसा आउँछ भने किन दुःख गर्ने ? अधिकांश नेपालीको मानसिकता नै त्यहीँ भइसकेको छ । त्यसैले हामी दशौं वर्ष पछाडि धकेलिइसकेका छौं । त्यसैले वास्तवमै हामीले हाम्रो देशको विकास गर्ने हो भने विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई स्वदेशमा रोजगारी सिर्जना गरेर फर्काउन सक्ने वातावरणको हुनुपर्छ ।
हाम्रो जमिनको कुनै पनि भूभाग बाँझो नरहोस्, विगतमा जस्तै हाम्रा खेतमा धानका बालाहरू, जौ, गहुँका बालाहरू लहराउन, बारीमा कोदो, मकै हराभरा होस् । खेतका आलीमा भटमास अन्य तरकारीहरू फलून, राजमार्गका दुवै किनारमा मकै, फलफूल जुन भूभागमा जस्तो खेती हुन्छ त्यो लगाऊँ, सरकारले किसानको पसिनाको कदर गरोस्, बजार व्यवस्थापन गरोस्, किसानले उब्जाएको अन्नबाली हामीलाई बढी भएको विदेशमा निर्यात गरौँ, हाम्रै देशमा फल्छ डलर । अनि हामीले विदेशी डलरबालाहरूलाई डलरमै तलब दिएर काम लगाउन सक्छौं । त्यतिबेलासम्म हामी कुनै पनि नेपालीले काम गर्नुपर्ने छैन । हामीले गर्ने काम डलर तलबमा विदेशीले नै गर्नेछन् । हामी डलरमा भत्ता खाएर बस्ने हैसियतमा पुग्ने छौं । त्यतिबेला हामीले पासपोर्टको खेती गर्नुपर्ने छैन । हामीले गर्दै आएको पासपोर्टको खेती कुनै देशका विदेशीले गर्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts