काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरु अर्थात् गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म एक हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो तथ्यांकअनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कर्णालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । इडिसिडीका अधिकारीहरू अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीव्र छ । अगष्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यसकारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ ।
अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा किराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू-भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् । जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् । डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्री सम्मको तापक्रम अनुकूल मानिन्छ ।
किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिन सम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै अहिलेका लागि तीन प्रमुख उपाय अपनाउन आमसर्वसाधारणहरूलाई आग्रह गरेको छ । मन्त्रालयले भनेको छ- ‘लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।’ मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउन तथा डेंगुका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउनसमेत आग्रह गरेको छ ।
मन्त्रालयले यदि कसैको परिवारमा कसैलाई डेंगु लागेको छ भने अन्य सदस्य कसरी जोगिने ? भन्ने बारेमा समेत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ- ‘यदि परिवारको कुनै सदस्यलाई डेंगु लागेको छ भने अन्य सदस्यलाई डेंगु लाग्न नदिन संक्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, संक्रमितको हेरचाहमा खटिँदा पूरा बाहुला भएको लुगा लगाउने, लामखुट्टे धपाउन धूप, कोइला वा लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको क्याल ढोकामा जाली लगाउने घर वरपर पानी जम्न नदिने गर्नुपर्छ ।’ इडिसिडीले गत वर्षको तुलनामा यो वर्ष डेंगु संक्रमण फैलिने दर तीव्र भएको जनँएको छ । साउन, भदौ तथा असोज महिनासम्म डेंगुको संक्रमण फैलिने जोखिम अत्यधिक रहन्छ ।
डेंगु संक्रमित बिरामीलाई दुईदेखि सात दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टा सम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तश्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।
संक्रमित व्यक्तिलाई श्वास-प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउनेलगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts