
कृष्णप्रसाद सुवेदी/हिटा
काठमाडौं । दैनिक विदेशिने नेपालीको संख्या बढ्दो छ । विदेशिने बढेसँगै उनीहरू ठगिने क्रम पनि बढेको तथ्यांकले देखाउँछ । अधिकांश नेपाली नजिकका आफन्त, साथीभाइ र चिनजानका गाउँलेबाट ठगिने गरेका छन् । ठगीको जालो लामो छ । गाउँगाउँ पुगेर मान्छे खोज्नेदेखि काठमाडौंमा मेनपावर खोलेर बसेकाहरूसम्म ठगीमा संलग्न रहेको पाइन्छ । यति मात्रै होइन कतिपय अवस्थामा उनीहरूलाई राज्यकै निकायले संरक्षणसमेत गरेको पाइएको छ । वैदेशिक रोजगारको नाममा मानव तस्कर बढेको विज्ञहरूले पनि औँल्याएका छन् ।
सरकारको कमजोर प्रस्तुति तथा सम्बन्धित निकायसँग समन्वयको अभावले सर्वसाधारण मानव तस्करको फन्दामा पर्ने गरेको उनीहरू बताउँछन् । यस्तै एउटा करोडौँ ठगीको खुलासा भएको छ । वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाइदिने भन्दै १५० भन्दा बढीबाट करोडौँ रकम असुलेर ठगी गरेको पाइएको हो ।
नारायणी ओभरसिज प्रालि नामक कम्पनीका सञ्चालक भनिएका संंजोग तामाङ/गुरुङले १५० बढी युवायुवतीसँग जनही दुईदेखि साढे दुई लाखसम्म असुलेर ठगी गरेको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार गुरुङले माल्दिभ्समा रोजगारीमा लगाइदिने भन्दै प्रतिव्यक्ति पौने तीन लाखसम्म असुलेर ठगी गरेका हुन् । जब कि गुरुङको कम्पनी वैदेशिक रोजगार विभागमा समेत दर्तै नभएको पाइएको छ । कम्पनीको दर्ता नम्बर दाबी गरिएको ८८५ मा अर्कै कम्पनी दर्ता छ । गुरुङले नक्कली कागजात तयार पारेर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूबाट करोडौँ रकम असुलेको देखिएको छ ।
गत चैत १८ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले खारेज गरेको म्यानपावरका सञ्चालकलाई पक्राउ गरेको थियो । रकम लिएर रोजगारी नपाएपछि उनीहरू न्यायका लागि वैदेशिक रोजगार विभाग पुगेका थिए । विभागमा गुरुङले ठगी गरेको भन्दै पीडितले निवेदन दिएका थिए । गुरुङबाट ठगिएका पीडितले विभागमा जाहेरीसमेत दर्ता गराएका थिए । जाहेरी दर्ता नम्बर २२४६ रहेको छ ।
सामाजिक सञ्जालमा आकर्षक विज्ञापन
गुरुङले फेसबुकमा विज्ञापन गरेर सोझा नेपालीलाई फसाएको देखिन्छ । उनले माल्दिभ्समा राम्रो रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गरेर ठगी गरेको पीडितले बताएका छन् । नारायणी ओभरसिज प्रालि नामक कम्पनीको फेसबुकमा राखिएको विज्ञापनमा माल्दिभ्समा वेटर, हाउस किपिङ, क्लिनर्स, कुक, किचन हेल्पर र वारिष्टाको काम खुलेको देखाइएको छ । कामअनुसार आकर्षक पारिश्रमिकसमेत रहेको विज्ञापनमा उल्लेख छ । तर, त्यही विज्ञापन देखेर गुरुङको सम्पर्कमा पुगेकाहरू भने ठगिएका छन् । गुरुङ पक्राउ परे पनि अन्य सञ्चालकहरू भने फरार रहेको पीडितको दाबी छ ।
एउटै व्यक्तिका दुई/तीनवटा कम्पनी, ठाउँ ठाउँमा सेयर
कतिपय मेनपावरहरू विभागमा दर्तासमेत नभई सञ्चालन भइरहेका छन् । केहीले एउटै दर्ता नम्बर राखेर दुई÷तीनवटा कम्पनी सञ्चालन गरिरहेको विभागकै तथ्यांकले देखाउँछ । तिनैबाट बढी मानिसहरू ठगिने गरेका छन् । एउटा कारबाहीमा पर्दा अर्कोबाट कारोबार गर्ने गरेको देखिन्छ । त्यसको अलावा म्यानपावर व्यवसायीहरूले एकभन्दा बढी कम्पनीको सेयर खरिद गरेका छन् । यिनैले कन्सल्टेन्सी र खारेज भएका म्यानपावरबाट रकम असुली गरेर ठगी गर्ने गरेको अनुसन्धानले देखाउँछ । वैदेशिक रोजगार ऐन २०६४ मा एउटा म्यानपावर सञ्चालकले अर्को म्यानपावर खोल्न नपाउने व्यवस्था छ । वैदेशिक रोजगारीमा पठाउने कामदारको संख्या हेरेर विभागले दुई, चार र ६ करोड धरौटी राखेर मात्रै मेनपावर व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।
कानुन फितलो हुँदा ठगी बढ्यो : लोकनाथ भुसाल
वैदेशिक रोजगार विभाग उद्वार तथा राहत समन्वय शाखाका निर्देशक लोकनाथ भुसाल कानुन फितलो हुँदा ठगी बढेको बताउनुहुन्छ । एकपटक ठगी गरेको व्यक्तिलाई सामान्य धरौटी या कम सजाय हुँदा उनीहरूका मनोबल बढेको उहाँले बताउनुभयो । अर्कोतर्फ मन्त्री र सचिवस्तरीय निर्णय गरेर पनि कामदार वैदेशिक रोजगारीमा पठाउन पाउने नियमले गर्दा पनि ठगी बढेको हो । लामो समयदेखि वैदेशिक रोजगारीको नाममा मानव तस्करी र करोडौँ ठगी भइरहँदासमेत सम्बन्धित निकायले भने ध्यान नदिएको पीडितको गुनासो छ । दैनिक ठगीका उजुरी पर्ने गरेको भए पनि उनीहरूले न्याय पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच