काठमाडौं । कृषि तथा वन विश्वविद्यालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)बीच नेपालको कृषि क्षेत्रको विकासको संयुक्त कार्यका लागि सम्झौता भएको छ ।
एफएओका नेपाल तथा भुटानका प्रमुख केन शिमिजु र विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको उपस्थितिमा चितवनमा दीर्घकालीन सहकार्यका लागि द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको एफएओले जनाएको छ ।
संयुक्तरूपमा कृषिका परियोजना तयारी तथा कार्यान्वयन, शैक्षिक विकासका अनुसन्धानमूलक ज्ञान आदानप्रदान, अनुसन्धान तथा प्रविधिसमेतका सूचना आदानप्रदानलगायतका कार्य गर्दै कृषि तथा खाद्य प्रणाली सुदृढीकरणका लागि दुवै संस्थाले अध्ययन अनुसन्धानमूलक कार्यक्रमलाई तीव्रता दिने भएका छन् ।






