
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणबारे जानकारी नदिएर संसद्प्रति अपमान गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकको सुरुमै बोल्दै विपक्षी दल कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी हुनुभएका प्रधानमन्त्री प्रचण्डले पाँच दिन बितिसक्दा पनि कुनै जानकारी नदिएको भन्दै प्रश्न गर्नुभएको हो । प्रमुख सचेतक लेखकले यही बीचमा राष्ट्रपतिसमेत विदेश भ्रमणमा रहेको कुरा आफूहरूले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको टिप्पणी गर्नुभयो ।
आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि सभामुखबाट रुलिङको माग गर्दै प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । तर, प्रधानमन्त्री सदनमा आउन सक्नुभएन । प्रधानमन्त्री सदनको नेता हो । कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदा सदनले थाहा पाउन पत्रिका पढेर थाहा पाउनुपर्ने अवस्था छ । अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यू मुलुकबाहिर जानुभएको छ । राष्ट्र प्रमुख देशबाहिर जानुहुन्छ । सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ । तर, सदनले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर गएको कुरा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ । सरकारका कारणले संसद्को न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन । यो खेदजनक छ ।’ यसअघि सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेले पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।
‘प्रचण्डको भारत भ्रमण पारिवारिक थियो कि राजनीतिक ?’
प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमण राजनीतिक हो या पारिवारिक ? भनेर कांग्रेसका सांसदले संसद्मा कटाक्ष गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सार्वजनिक भएका भ्रमणको फोटोले पारिवारिक या राजनीतिक भ्रमण छुट्याउन नसकिएको टिप्पणी गर्दै भन्नुभयो, ‘सार्वजनिक भएका भ्रमणका फोटोले प्रधानमन्त्रीको भ्रमण पारिवारिक या राजनीतिक ठम्याउन सकिएन । पारिवारिक हो भने मोदीको परिवारका कोही सदस्य देखिएन । राजनीतिक हो भने नेपालका मन्त्रीको ठाउँमा परिवारका सदस्य देखिए । वान टु वान भन्यो भने तेस्रो व्यक्तिको प्रवेश देखियो । भ्रमणले प्रधानमन्त्रीको परिवारको सदस्यको उचाइ बढेको होला, देशको के भयो ?’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा गएको बेला प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल हाबी भएको भन्दै संसद्मा यसअघि पनि प्रश्न उठेको थियो ।
गृहमन्त्रीको अभिव्यक्तिमा पुनः प्रधानमन्त्रीको जवाफ माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री प्रचण्डको पुनः जवाफ माग गरेको छ । जेठ दोस्रो साता उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनमा सम्बोधन गर्ने क्रममा विपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई रातो पासपोर्टको दुरुपयोग गरेको, मुलुकको सूचना बेचेको, कैलालीको टीकापुरस्थित सरकारी जग्गामा अनियमितता गरेको लगायतका आरोप लगाउनुभएको थियो । ती आरोप पुष्टि गर्न कांग्रेसले सरकार र गृहमन्त्रीलाई चुनौती दिँदै आएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेको सदनमा बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री सदनमा देखिराख्नु भएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ । मैले के विश्वास गरौँँ ? हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटि जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’
सदनमा उठेका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सभामुखले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको विभिन्न विषयवस्तु र प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण गराउँदै सभामुख घिमिरेले भन्नुभयो, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् । त्यस्तै, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्याण्ड र जर्मनी भ्रमणका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनमा जानकारी दिनुपर्ने माग गर्नुभएको थियो ।
अमरेश सिंहलाई रोष्ट्रममा उभ्याइएपछि कांग्रेसको नियमापत्ति
विनियोजन विधेयकमाथि छलफल चलिरहँदा मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक केहीबेर रोकिएको थियो । बिहीबार र शुक्रबार एउटै दृश्य देखिएको हो । विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव राख्न रोष्ट्रममा पुगेका बेला सम्बन्धित मन्त्री नदेखेपछि बिहीवार स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छलफल रोक्न माग गर्नुभएको थियो । सभामुखले सांसदलाई रोष्ट्रममै उभ्याएर मन्त्रीलाई छिटो बैठकमा आउन आग्रह गर्नुभएको थियो । केही बेरमा स्वास्थ्यमन्त्री प्रदीप यादव उपस्थित भएपछि बैठक सुरु भएको थियो । शुक्रबार पनि खर्च कटौती प्रस्ताव राख्ने क्रममा सम्बन्धित दुईजना मन्त्री उपस्थित थिएनन् । त्यसपछि सभामुखले सांसदलाई रोष्ट्रममै उभिन भनेर मन्त्रीलाई आउन आग्रह गर्नुभयो । त्यही बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नियमापत्ति जनाउँदै भन्नुभयो, ‘संसद्मा बारम्बार यस्तो भइरहेको छ । बैठक पाँच घण्टा चल्दा मन्त्रीजीलाई गाह्रो भएको छ । नियमावली संशोधन गर्ने कि ? वक्तालाई त्यहाँ अडाइराख्नु गलत हो । मन्त्री अनुपस्थित हुने, माननीयले सजाय पाउनुपर्ने उल्टो भयोजस्तो लागेको छ, यसलाई करेक्सन गरियोस् ।’ त्यसपछि सभामुख घिमिरेले छलफलको बेला मन्त्रीहरूलाई संसद्मा उपस्थित हुन निर्देशन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच