हेटौंडा । सरकारले उपेक्षा गरे पनि समुदाय जुट्दा गाउँमा सडक निर्माण गर्न सकिने गतिलो उदाहरण बनेको छ–मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४, गर्खाल, चम्पाखानी देउराली सडक । भौगोलिक रूपमा विकट कैलाश-४ स्थित चम्पाखानी, धुुसराङ र देउरालीका तामाङ र चेपाङ समुदायका ४४ जना स्थानीयले छाक कटाएर जम्मा गरेको नगद र एक महिनाको मेहनतको प्रतिफल साढे दुई किलोमिटर नयाँ ट्र्याकसहित पाँच किलोमिटर बाटो निर्माण भएको हो । स्थानीयले सडक निर्माणका लागि बजेट छुट्याउन गाउँपालिकासँग पटक-पटक गरेको आग्रह गाउँपालिकाले बेवास्ता गरेपछि मुठ्ठीदान तथा श्रम योगदान गर्दै गाउँमा बाटो निर्माण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ३, लावती हुँदै कैलाश गाउँपालिकाको वडा नम्बर ४, गर्खाल, चम्पाखानी देउराली सडक जोडिएपछि अब गाउँका उत्पादन बजार र बजारबाट आवश्यक सामग्री गाउँसम्म ढुवानीका लागि सहज भएको हो ।
स्थानीयले एक-दुई हजारदेखि आफ्नो गच्छे अनुसारको चन्दा संकलन र श्रमदान गरेर ११ लाख नौ हजार ६७० रुपैयाँ लागतमा पाँच किलोमिटर ग्रामीण सडक निर्माण गरेका हुन् । यस्तै, कैलाश गाउँपालिकाले पाँच सय लिटर डिजेल, लालिगुराँश सिमेन्ट उद्योगबाट १४ घण्टा ब्रेकर मेसिन र राक्सिराङ गाउँपालिकाबाट १३ घण्टा मेसिन सहयोग प्राप्त भएको थियो । पिछडिएको बस्ती त्यसमा पनि अनिकालका बेलामा छाक कटाएर निर्माण गरिएको यो ग्रामीण सडक बुधबार उद्घाटन भइसकेको छ । बाटो निर्माणका लागि सबै तहका सरकारसँग अपेक्षा गरिए पनि आफूहरूको अग्रसरताले मूर्तरूप लिएकोमा कैलाश-४ का वडावासी यतिबेला उत्साहित भएका छन् ।
‘हामीले पटक-पटक गाउँपालिकासँग बाटो खन्नका लागि आवश्यक बजेट व्यवस्था गर्न भन्यौँ । तर, हाम्रो आवाज सुनिएन ।’ बाटो निर्माणका लागि अगुवाइ गर्नुभएका स्थानीय केशव मुक्तानले भावुक हुँदै भन्नुभयो, ‘स्थानीय सरकारको आँखाले हाम्रो यो पिछडिएको बस्ती नदेखेर के भो त ? हामी एक छाक गाँस काटेर भए पनि आफ्नो लागि बाटो आफैँ खन्न सफल भयौँ ।’ उहाँकै नेतृत्वमा गाउँमा भएको एकछिनको सानो भेलाले मुठ्ठीदानमार्फत संकलित आर्थिकबाट बाटो निर्माण गर्ने निर्णय गरेको थियो । ‘बाटो खन्न कति दिन लाग्छ, लागोस्, काम पूरा नगरी विश्राम नलिने भन्दै चन्दा सहयोग उठाउन सुरु गरियो,’ उहाँले भन्नुभयो, ‘यसरी हामी स्थानीय गाउँलेबाट संकलित दुई लाख ७५ हजार एक सय रुपैयाँ हामीले तेल किन्नमा खर्च गर्यौँ ।’ उठेको पैसा तेल किन्नमा सकिएपछि तेल ढुवानीका लागि कतिपयले सहयोग गरेको उहाँले सुनाउनुभयो ।
सडक निर्माणमा पालिकाले सहयोग नगरेपछि मन बुझाएका उनीहरूलाई बाटो निर्माण सुरु गर्न लाग्दा पुु¥याइएको अवरोधले भने चित्त दुःखेको छ । सडक खन्न डोजर ल्याउने क्रममा बीचमा छेकेर अर्कै बाटो राक्सिराङको लावती हुँदै ल्याउन बाध्य पारिएको उहाँले गुनासो गर्नुभयो । सडक निर्माणका लागि आफूहरूले गरेको माग सुनुवाइ नहुँदा दुःख लागेको वडा सदस्य निमराज चेपाङले बताउनुभयो । ‘पटक–पटक वडामार्फत गाउँपालिकामा बजेट माग्न जाँदा पनि पिछडिएको यो ठाउँमा विकास होस् भन्नेमा सरकारको ध्यान गएन,’ उहाँले दुुःखेसो गर्नुभयो ।
सडक निर्माणका लागि पाँच लाख ७२ हजार ९६० रुपैयाँ चन्दा सहयोग गर्ने स्थानीय देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिं थिङ गाउँका मान्छेले खाई नखाई जम्मा गरेको पैसाको सही सदुपयोग गर्न पाइएको बताउनुहुन्छ । थिङका अनुसार यो संस्थामा रहेका २४ जना सदस्यले मासिक पचास रुपैयाँ जम्मा गर्दै आइरहेका छन् । यस्तै, अत्यावश्यक सहयोगात्मक काममा संस्थाबाट खर्च गरिँदै आइएको उहाँको भनाइ छ ।
ग्रामीण सडक निर्माणका लागि अगुवाई गर्नुभएका विष्णुराम चेपाङ अबका दिनमा यो चेपाङ तथा तामाङ बस्तीका बिरामी र सुत्केरीलाई यातायातमार्फत अस्पताल लैजान सकिने बताउनुहुन्छ । ‘यहाँका चेपाङ तथा तामाङ बिरामी एवं सुत्केरी हुँदाको पीडाका विषयमा स्थानीय सरकारको ध्यान गएन ।’ चेपाङ भन्नुहुन्छ, ‘अब चाहिँ यो बस्ती विकासका लागि उहाँहरूको नजर पर्छ कि ?’ स्थानीय सरिता चेपाङ बाटो बनेपछि स्वास्थ्य उपचारका लागि अब आफूहरूलाई सहज हुनेमा दंग हुनुहुन्छ । ‘यहाँबाट नजिक पर्ने कालिकाटारमा स्वास्थ्य संस्था भए पनि वर्षाका बेला त्यता जान सकिँदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘हामीले बनाएको नयाँ बाटोबाट अब बिरामीको उपचार गराउन लैजान पाइने भएको छ, हामी निकै खुसी छौँ ।’
सडक निर्माणका लागि विभिन्न रूपले सहयोग गरेका छिमेकी पालिका राक्सिराङ-३ का पूर्व-वडाध्यक्ष बाबुलाल स्याङ्तान विकास पछि आगामी दिनमा गाउँलेको जीवनशैली परिवर्तन हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँको तेजपत्ता, साग, स्कुस अब यतिकै खेर फाल्नुपर्दैन, गाडीमा हालेर बजार पठाउँदा गाउँमा पैसा आउँछ । यहाँका मान्छेले अब पैसा कमाउनेछन् । उनीहरूको जीवनस्तरमा अब परिवर्तन देख्न सकिनेछ ।’ विगतमा एक बोरा चामल किन्न पाँच हजार खर्च हुने गरेकोमा अब त्यसको आधा अर्थात् २५ सय खर्चमा पुग्ने हुँदा सडक निर्माणबाट धेरै पाटामा लाभ हुने उहाँ बताउनुहुन्छ ।
कैलाश गाउँपालिकाका पूर्वअध्यक्ष टंक मुक्तान विगतमा आफूले देखेर पनि पूरा गर्न नपाएको सडक निर्माणको सपनालाई सार्थकता दिन स्थानीय आफैँ अघि सरेकोमा खुसी व्यक्त गर्नुहुन्छ । ‘नामटारको उत्पादन हेटौँडा, मनहरी, नारायणघाट हुँदै लैजानुभन्दा यही सडक लिक्चे, सेङ्सिराङ, देउतिस, लावती, मनहरी हुँदै नारायणघाट पु¥याउने योजना बनाइएको थियो ।’ पूर्वअध्यक्ष मुक्तान भन्नुहुन्छ, ‘अर्कोतर्फ सिमपानी सरिखेत हुँदै काठमाडौं चन्द्रागिरिको बाटो यही बाटोबाट जोड्ने योजना बनाएका थियौँ । गाउँपालिकामा पूरा समयमा नेतृत्व गर्न नपाउँदा विगतमा ती योजना पूरा हुन नसके पनि अहिले सफलतातिर उन्मुख भइरहँदा खुसी लागेको छ ।’ वर्तमान गाउँपालिकाले आफ्नो पालिकाको विकट बस्तीमा ध्यान नदिँदा चामल किन्न खर्च गर्ने पैसा स्थानीयले बाटो बनाउन लगाउनुपरेको उहाँको भनाइ छ ।
पालिका सरकार अहिले यस्ता ग्रामीण सडक निर्माण गरी नागरिकको दैनिकी सजिलो बनाउनभन्दा पनि ठेक्कापट्टामा नीतिगत भ्रष्टाचारमा रमाइरहेको उहाँले आरोप लगाउनुभयो । पालिका र प्रदेश सरकारले लगाउने ठेक्कामा नै २०-२२ प्रतिशत फरक परेको बताउँदै उहाँले पालिका नीतिगत भ्रष्टाचारमा लागेको बताउनुभयो । एक कल फोन गरेको भरमा पाँच-दश लाखको योजना पर्नुपर्ने बेलामा छाक काटेर भए पनि आफ्नो लागि बाटो बनाउन स्थानीय आफैँ लागिपरेर सबैलाई उदाहरण प्रस्तुत गरेको मुक्तानको भनाइ छ । उहाँले अब पालिका, प्रदेश र संघीय सरकारसँग स्थानीयको अगुवाईमा बनेको यो बाटो व्यवस्थित र दिगोपनाका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गर्नुभयो ।
स्थानीयले गत वैशाख १८ बाट काम सुरु गरी यही जेठ २० गतेसम्म बाटो खन्ने काम सकेका हुन् । नयाँ सडक खन्ने तथा ओपन ट्र्याक खुल्ला गरी निर्माण गरिएको बाटोसँग स्थानीयले विकास तथा समृद्घिको सपना जोडिएकाले यसमा आगामी दिनमा सबै तहका सरकारको सहयोग आवश्यक देखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts