काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट असार १६ गतेभित्र सुझाव मागेको हो । सुझावहरू राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिनेछ । साथै ०१-४४१७४९७ मा फोन वा ०१-४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिनेछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएका लक्ष्य प्राप्ति गर्न सघाउ पुग्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । मौद्रिक नीति समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी ल्याइने उहाँको भनाइ थियो ।
गभर्नर अधिकारीले कर्जा लगानी विस्तार हुने गरी खुकुलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै आगामी आवको नीति आउने बताउँदै आउनुभएको छ । गभर्नरले बजेटमा उल्लेखित छ प्रतिशत आर्थिक वृद्धि र मूल्यवृद्धि साढे ५ प्रतिशतको सीमामा राख्ने लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।
आन्तरिक आर्थिक गतिविधि एवं मुद्रास्फीतिको अवस्था साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता