ललितपुर । कफी पारखीलाई लक्षित गरेर नेपालमा पहिलोपटक ‘कफ टेष्टर च्याम्पियनसिप २०२४’ आयोजना गरिएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित च्याम्पियनसिप कफी पारखीलाई नेपाली कफी चखाउने उद्देश्यले राखिएको हो । नेपाली कफी प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा समेत ब्राण्डिङ गर्ने उद्देश्य राखेर द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले संयुक्तरूपमा एकदिने कार्यक्रम आयोजना गरेका हुन् ।
आयोजकमध्येका विनायक मल्लले नेपाली कफीले अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र मूल्य नपाइरहेका समयमा ब्राण्डिङ गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो । कफी क्षेत्रमा युवा सहभागिता बढाएर भविष्य सुनिश्चित गराउन सकिने उहाँको भनाइ थियो । प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन् । कफी उत्पादक, कफी सपका सञ्चालक, वारिष्तादेखि कफी पारखीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतिस्पर्धाका लागि आवेदन दिएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइन्छ । एकजनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ । तीमध्ये दुईवटा एउटै स्वादको र अर्को केही फरक हुन्छ । प्रतिस्पर्धीले तीनमध्ये एक कफी चाखेर फरक छुट्याउनुपर्छ । निर्णायकले सही हो या हैन भन्ने छुट्याउँछन् । सोही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रियस्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । कफी क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टिमले इभेन्ट आयोजना गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा