लोकमार्ग कालोपत्रको दुरावस्था : स्थानीय र यात्रुलाई सास्तीनै सास्ती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे सडक यस वर्ष पनि कालोपत्र नहुने भएको छ । २६ वर्ष अगाडि ट्रयाक खुलेको लोकमार्ग कालोपत्र गर्नका लागि एक झण्डै एक दशक अगाडि निर्माण कम्पनीलाई जिम्मा दिए पनि काम नगर्दा चालु आर्थिक वर्षमा नसकिने भएको हो । कालोपत्र गर्न दुई खण्डमा गरि ठेक्का लगाइए पनि बागलुङ नगरपालिका-४ उपल्लाचौरदेखि काठेखोला गाउँपालिका-५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र त्यसभन्दा माथि घोडाबाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको छ ।

दोस्रो खण्ड इनारपानी घुम्तीदेखि घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरेको छ । पहिलो खण्ड उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवीसँग वि.सं. २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँच पटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । यस खण्ड चालु आर्थिक वर्षमा नसकिने भएपछि निर्माण कम्पनीले आगामी पौस मसान्तसम्म सक्ने गरि म्याद थप गरेको छ । दोस्रो खण्ड वि.सं. २०७२ साल माघमा जिम्मा पाएको एम.पी/एस.सी.एफ/ई.सीसी जेभी गत पौस महिनामा सूचीमा परेको थियो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको थियो । काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्म १२ किलोमिटर सडक एम.पी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौंले संयुक्त रुपमा ठेक्का लिएका थिए । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा ३३ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो । अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउनका लागि प्राबिधिक मूल्याङ्कनको काम भइरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वत कुश्माका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले यस वर्ष बर्खा लाग्न सुरु भएको हुँदा कालोपत्रको काम नहुने बताउनुभयो । कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उहाँको भनाइ छ । पहिलो खण्डका सम्पन्न गर्नका लागि सुरुमा ३९ करोड ७१ लाखमा सम्झौता गरेको पछि बढेर ४३ करोड ६५ लाख पुगेको उहाँले बताउनुभयो । अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षा अनुसार गर्न नसकेको इन्जिनियर ढकाल बताउनुहुन्छ । हालसम्म पाँचौँ पटक म्याद थप गरेको हुँदा पुस मसान्तसम्म जसरी पनि सक्नु पर्ने उहाँको भनाइ छ । यस खण्डमा अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो - “पहिलो खण्ड अन्तरगत उपल्लाचौरदेखि कोपीला घुम्तीसम्मको काम भइरहेको छ तर अपेक्षा अनुसार काम भएको छैन, यस वर्ष सक्नु पर्ने हो तर कामको गति हेर्दा त्यो संभावना देखिएन, त्यसले गर्दा म्याद थप भएको छ, यि दुई खण्ड धेरै समय अगाडिनै सकिनु पर्ने हो, तर निर्माण कम्पनीको लापरबाहीले गर्दा अहिलेसम्म सकिन सकेको छैन, पहिलो खण्ड ८० र दोस्रो ७४ प्रतिशत मात्रै काम भएको छ, दोस्रो खण्डको अब केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ ।”

लोकमार्ग खुलेको डेढ दशक बित्दा पनि कालोपत्रे नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परेको काठेखोला गाउँपालिका-५ का नन्दप्रसाद कँडेलले बताउनुभयो । बर्खामा हिलो र हिउँदमा धुलोका कारण सडक छेउछाउँका बस्तीनै विस्थापित हुनु परेको उहाँले गुनासो पोख्नु भयो । हिउँदमा सडकको धुलोले घरै पुरिने हुँदा स्थानीयले घर सम्पत्ति छोडेर भाग्नु परेको कँडेलको भनाइ छ । राज्यले काम नगर्ने ठेकेदारलाई कारबाही नगर्दा यो स्थिती आएको उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज