काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलक्षित टिप्पणी गर्नुभएको छ ।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले मेयर बालेनले गिरीबन्धु टीस्टेट प्रकरणमा अध्यक्ष ओलीलाई जोड्नु भैंसीलाई ढाडमा झिंगा बसेर लात हान्नु जस्तै भएको टिप्पणी गर्नुभएको हो ।
‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर ।’
केही दिन अघि मेयर बालेनले गिरीबन्धु टीस्टेटमा ओलीले करोडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै स्टाटस लेख्नुभएको थियो । त्यस पछि एमाले अध्यक्ष ओली र मेयर बालेनबीच घोचपेच चलिरहेको छ ।
अध्यक्ष ओलीले आफू अनावश्यक विवादमा पर्न नचाहेको बताउनुहुँदै राष्ट्रिय राजनीतिलाई परिपक्क, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भन्नुभयो । “ अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो ।
यसैगरी उहाँले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै उहाँले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।






