मकवानपुर । पछिल्लो एक वर्षको अवधिमा वागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो ।
सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीन जना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिनुभयो । उहाँले सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएको बताउनुभयो ।
विपद्मा परेर छ सय ३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ । “प्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन्”, अधिकृत कार्कीले भन्नुभयो, “४२ वटा जनावर आतक, १६ भारी वर्षा भएको तथ्याङ्क छ । त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क मन्त्रालयसँग छ ।”
वागमती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपकारुपमा उच्च जोखिममा रहेको कार्कीले बताउनुभयो । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उहाँले जानकारी दिनुभयो ।
दश वर्षको तथ्याङ्क हेर्दा सोही अवधिमा एघार हजार आठ सय ५२ जनाको मृत्यु भएको छ । उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिनुभयो ।
विपद्मा परेर एघार लाख ९९ हजार छ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्याङ्कमा उल्लेख रहेको छ । दश वर्षको अवधिमा विपद्मा परेर प्रदेशमा रु सात खर्बको क्षति भएको कार्कीले बताउनुभयो । उहाँका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण रु सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको छ । रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts