नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड र हसिना दुवैले यसअघि भारतीय प्रधानमन्त्री मोदीलाई १८औं लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाई दिनुभएको थियो ।
प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री प्रचण्डसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए । कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागिताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताउनुभएको छ ।
बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ ।
समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताउनुभएको छ । हसिनाले हालै बंगलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि बंगलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकाले भारत र बंगलादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गर्नुभएको थियो ।
सन् २०२४ को लोकसभा चुनावको मतगणना मंगलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।
अर्कोतर्फ, मुख्य विपक्षी कांग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ । रासस/एएनआई ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता