
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) यतिबेला सत्ता गठबन्धनमा आबद्ध छ । संघदेखि प्रदेश सम्मका सरकारमा सहभागी नेकपा एस एमाले, माओवादी र रास्वपा सम्मिलित सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बोली र व्यवहार भने कहिले सत्तापक्ष जस्तो कहिले प्रतिपक्ष जस्तो देखिन्छ ।
नेकपा एमालेबाट विद्रोह गरेर नेपालले निर्माण गरेको नेकपा एसबाट प्रतिनिधि सभामा १० जना सदस्य छन् । संघ र कतिपय प्रदेश सरकार गठनमा नेकपा एसको भूमिका निर्णायक रहन्छ । सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेको नेकपा एस मधेशमा भने संघको विपक्षी दल जसपा नेतृत्वको सरकारमा सहभागी छ । सोही सरकार बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहीदिन अघि राखेको बैठकमा अध्यक्ष नेपाल सहभागी हुनुभयो । विपक्षी बैठकमा उहाँको उपस्थितिले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्यो । लगत्तै नेकपा एसले मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने संघीय सत्ता गठबन्धनको निर्णयमा सहमति पनि जनाइसकेको छ । आफैँ सहभागी सरकारको विकल्पमा नयाँ सरकार बनाउने सहमति गरिसकेको नेकपा एसको भूमिका पछिल्लो समय ‘यता पनि ठिक्क, उता पनि ठिक्क’ भनेझैँ छ ।
नेकपा एसका अध्यक्ष नेपाल घरी सत्ता पक्षको बैठकमा पुग्नुहुन्छ, घरी विपक्षीको बैठकमा । यही कारण सत्ता गठबन्धनभित्र उहाँप्रति शंका कायमै छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै महत्वपूर्ण निर्णय लिँदा नेपालसँग सल्लाहसमेत नगरेको पाइन्छ । जसपा विभाजनका बेला होस् वा गठबन्धनका अन्य काममा अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टिसमेत राख्दै आउनुभएको छ । कांग्रेस र जसपासँगको बैठकमा समेत उहाँले सत्ता गठबन्धनमा आफू र आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नभएको गुनासो गर्नुभएको थियो ।
गत वैशाख ८ गते गृहजिल्ला पुगेर अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कमजोर ठानेमा देशमा अर्को उथलपुथल हुने घोषणा गर्नुभएको थियो । सरकारका अधिकांश निर्णयमा असन्तुष्टि जनाउँदै आउनुभएका उहाँले जसपा विभाजनपछि भने केही संयमता देखाउनुभयो । प्रधानमन्त्री दाहालले चौथोपटक विश्वासको मत लिनुअघि अध्यक्ष नेपालले ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा शंका नगर्न’ आग्रह गर्नुभएको थियो । संघीय सत्ता गठबन्धनमा रहँदै सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्री नपाउने भएपछि नेकपा एसले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको एउटा पक्षसँग छोटो तालमेल गर्यो । मुख्यमन्त्री पाउने भएपछि पुनः गठबन्धनमै फर्कियो । यस्ता राजनीतिक निर्णयहरूले नेकपा एसलाई राजनीतिक रूपमा अस्थिर बनाएको छ ।
नेकपा एसकै नेताहरू भने पार्टीको भूमिका परिस्थितिजन्य भएको बताउँछन् । ‘अहिले हामी निकै निम्छरो पनि छैनौँ, धेरै तागतिलो पनि छैनाँै । पार्टी र आन्दोलन बचाउन सबैतिर समन्वय गर्नुपर्ने परिस्थिति छ’, एसका एक नेताले भन्नुभयो । ती नेताका अनुसार नेकपा एमालेसँगको राजनीतिक प्रतिशोध समाप्त नहुँदै गठबन्धनमा जोडिनु परेकाले केही विषयहरूमा अझै अलमल कायमै छ ।
अध्यक्ष नेपाल भने आफू र आफ्नो पार्टी कुनै अलमलमा नरहेको दाबी गर्नुहुन्छ । ‘हामी दुईटा नाउमा खुट्टा राखेर चल्दैनौँ । हामीले पहिलेदेखिकै सरकारको निरन्तरतामा सामेल भइरहेको मात्रै हो । पार्टीहरूको बीचमा संवाद हुन्छ । संवादबाट सहमति हुन्छ । सहमति भएपछि कार्यान्वयनका पक्षमा हुन्छौँ’, उहाँको भनाइ छ । आफ्नो पार्टीले लहडका भरमा नभई संस्थागत आधारमा निर्णय गर्ने र आफूले त्यसैलाई कार्यान्वयन गराउने अध्यक्ष नेपालको दाबी छ ।
दुईटा डुंगामा खुट्टा राखेर चल्ने प्रवृत्ति छैन : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूहरू दुईटा डुंगामा खुट्टा राखेर चल्ने प्रवृत्तिको नभएको बताउनुभएको छ । पार्टीको आगामी १०औँ महाधिवेशनबारे जानकारी दिन आइतबार बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले सबैले आफूहरूको आवश्यकता महसुस गरिरहेको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो आवश्यकता सबैले महसुस गरिरहेका छन् । केन्द्रीय सरकारमा छौँ, मधेशमा पहिले नै सरकारमा थियौँ । उपेन्द्र यादवसँग सहकार्य गर्दै अघि बढेको हो । अस्ति मात्रै एमाले र माओवादी केन्द्रका अध्यक्षसँग संवाद भयो । प्रधानमन्त्रीसँग कुरा गरेर अहिले सिधै आउँदै छु ।’ अध्यक्ष नेपालले नेताहरूबीच सम्पर्क हुनु स्वाभाविक भएको सुनाउनुभयो । ‘सबैले नेतासँग सम्पर्क गर्न पाउँछन् । हामीले पनि पाउँछौँ । अविश्वास नहोस् भनेर मैले प्रधानमन्त्रीसँग फोन गरेँ । उहाँले हुन्छ, कमिटमेन्ट नगर्नुहोस् भन्नुभयो । हामी दुईटा नाउमा खुट्टा राखेर चल्दैनौँ’, उहाँले भन्नुभयो । उहाँले मधेश प्रदेशको मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको पनि बताउनुभयो । ‘कुराकानी भइरहेको छ । अन्तिम फैसला पार्टीको बैठकबाट गर्छाैं’, उहाँले भन्नुभयो ।
प्रचण्ड-ओली भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बजेट लगायतका विषयमा देखिएको असमझदारीबारे छलफल भएको छ । अर्थमन्त्री वर्षमान पुनले संसद्मा पेस गरेको बजेटलाई एमाले अध्यक्ष ओलीले ‘जनयुद्धकालीन बजेट’ भनेर टिप्पणी गर्नुभएको थियो । एमाले संसदीय दलमा ओलीले बजेटमाथि आलोचनात्मक टिप्पणी गरेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको हो । छलफलका क्रममा दुवै नेताले बजेटमा देखिएका असमझदारी समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ताको प्रमुख घटक एमालेले नै बजेटमाथि नकरात्मक टिप्पणी गर्दा प्रधानमन्त्रीमाथि दबाब बढेको थियो । आइतबार नै संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले बजेटबारे असन्तुष्टि नभएको बताउनुभयो । ‘असन्तुष्टि छैन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो भन्ने मात्रै हो’, उहाँले भन्नुभयो । प्रचण्ड र ओलीबीच मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने लगायतका विषयमा पनि छलफल भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच