काठमाडौं । नेपाली राजदूतावास यांगुनले ३१ मे २०२४ मा नेपाल-म्यानमार ट्रेड रिलेसनः प्रमोटिङ सफ्ट्वेयर बिजनेस’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयर विकास र डिजिटल सेवा नेपालबाट म्यानमार निर्यात गर्न सम्भावित क्षेत्र पहिचान गरी दुई देशबीचका आइटी क्षेत्रका सरोकारवालाबीच सम्बन्ध स्थापना गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको पहिलो सत्रमा म्यानमारका लागि नेपाली राजदूत, यांगुुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष, म्यानमारका केन्द्रीय बैंकका उप-गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन म्यानमारको डिजिटल सेवा र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्वारा नेपालको सूचना प्रविधि क्षेत्रमा हाल भएको विकासबारे प्रकाश पार्दै नेपाली आइटी कम्पनीले उपलब्ध गराउँदै आएका विभिन्न सेवाबारे जानकारी दिइएको थियो । दोस्रो सत्रमा सहभागी आइटी कम्पनीहरूले आफ्ना स्टलमा आफ्नो उत्पादन र सेवा प्रदर्शन तथा स्टल भ्रमणकर्तासँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । नेपालको आइटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उहाँले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिकरूपमा विकसित तथा पूर्णरूपमा भरपर्दो रहेको बताउनुभएको थियो । राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात अमेरिकी डलर पाँच सय मिलियनबाट २५ बिलियन पुर्याउनुका साथै १५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको बताउनुभयो । साथै दुई देशबीचको व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काको आइटी र फिनेटक उत्पादन तथा सेवाका साथै उद्यमीको सञ्जाल बढाउन र अत्यावश्यक सेवा प्रदान गरी आइटी क्षेत्रलाई थप मजबुत बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
यांगुन क्षेत्रका मुख्यमन्त्री यु सोइ थिनले आधुनिक डिजिटल संसारमा कार्यक्रमको सान्दर्भिकतामाथि जोड दिँदै दूतावास टोलीलाई पहलका लागि बधाई दिनुभयो । सहभागी नेपाली आइटी कम्पनीलाई म्यानमारमा स्वागत गर्दै उहाँले दुर्ई देशका आइटी क्षेत्रबीचको सहकार्य सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । युएमएफसिसिआईका अध्यक्ष यु एइ विनले नेपाली आइटी क्षेत्रअन्तर्गत व्यवसाय, प्रक्रिया र आउटसोर्सिङमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो । डिजिटल रूपान्तरण विकल्प नभई व्यवसायको अस्तित्वका लागि महत्वपूर्ण भएको उहाँको भनाइ थियो । उहाँले कार्यक्रमले सेवा व्यापारका चुनौती पहिचान गर्न, सफ्टवेयरको मागलाई आपूर्तिसँग मिलाउन र म्यानमारको बैंकिङ, लघुवित्त र रेमिट्यान्स क्षेत्रमा सान्दर्भिक सफ्टवेयरको सम्भावित प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत नेपाली प्रवासी भेषराज खतिवडाले नेपाली कम्पनीलाई म्यानमारमा आइटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गर्नुभयो । युएमएफसिसिआईका संयुक्त महासचिव र म्यानमार डिजिटल इकोनोमी एसोसिएसनका अध्यक्ष आङ जायर लुइनले कार्यक्रमको उद्देश्य म्यानमारको व्यापार चक्र, आइटी कम्पनी, बैंक, लघुवित्त र वित्तीय संस्थालाई नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीबारे सूचना प्रवाह गर्नु रहेको बताउनुभयो ।
कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूले नेपालबाट हाल निर्यात भइरहेको आइटी उद्योगको विकासबारे प्रकाश पार्दै नेपाली आइटी कम्पनीले प्रदान गर्ने विभिन्न सेवाबारे जानकारी गराएका थिए । साथै म्यानमारमा डिजिटल सेवा सहज बनाउन उपयुक्त प्रविधिको विकास गर्न नेपाली आइटी कम्पनीसँग सहकार्य गर्न तयार रहेको पनि उनीहरूले बताए । कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथि म्यानमार केन्द्रीय बैंकका उपगभर्नर डा. लिन आउङले नेपाली आइटी कम्पनीद्वारा प्रदर्शित कोर बैंकिङ सफ्टवेयर, वालेट, कम्प्लायन्स सोलुसन, केवाइसी व्यवस्थापन, रेमिट्यान्स सफ्टवेयर, पेइङ रिसिभिङ एपिआइ सफ्टवेयर, माइक्रोफाइनान्स संस्था र सहकारीले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ सफ्टवेयरबारेमा चासो राख्नुभएको थियो ।
कार्यक्रममा म्यानमारको केन्द्रीय बैंक, म्यानमार बैंक एसोसिएसन, म्यानमार महिला उद्यमी नेटवर्क, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन, निजी बैंकका प्रतिनिधि, माइक्रोफाइनान्स संस्था, इन्स्योरेन्स र रेमिट्यान्स कम्पनीका पदाधिकारीलगायत दुर्ई सयजनाको सहभागिता रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।







Breaking news with related posts