ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ ।।
यी अभिव्यक्ति नेपाली साहित्यका वरिष्ठ नाटककार बालकृष्ण समको प्रहृलाद नाटकका हुन् । विसं १९९५ सालमा लेखिएको यो नाटकमा उनले यो अभिव्यक्ति दिए । यी पङ्तिले ज्ञानको फराकिलो आधार प्रस्तुत गरे । यो उनको अभिव्यक्ति थियो ज्ञान र विज्ञानलाई लिएर । विज्ञानको आधार ज्ञान हो । ज्ञान नभई विज्ञानले कहिले पनि प्रगति गर्न सक्ने अवस्था थिएन । ज्ञानको फराकिलो ढोकाबाट प्रवेश गरेको विज्ञानले ज्ञानलाई साँघुरो बनाउँदै आफूलाई उन्मत्त बनाएर बाहिर ल्यायो । त्यसैले भनिन्छ विज्ञानको उन्नत सफलता ज्ञान हो । यो ज्ञान र विज्ञानको युद्ध आजको होइन हिजोदेखि नै थियो । विकसित राष्ट्रहरू विज्ञानका माध्यमबाट पृथ्वीमात्र होइन अन्तरिक्षमा समेत आफूलाई उभ्याइरहेका छन् । ज्ञानको अथाह भण्डारबाट विज्ञान बामे सरेदेखि आज ज्ञानलाई नै पङ्गु बनाएर राखिदियो ।
प्रकृतिलाई बिगारेर विज्ञानका नाममा विकास गर्ने मानव हो । विकास अनिवार्य हो मानव सभ्यताका लागि । तर, विकासका नाममा प्रकृतिप्रति गरिने अभद्र व्यवहार कदापि स्वीकार्य हुँदैन प्रकृतिका लागि । मानिसको जीवनलाई सुख, समृद्धि र समुन्नति दिने विज्ञान प्रकृतिको प्रहारमा किन मौन देखियो ।
विज्ञानले मानिसलाई सुखी बनायो । सुख र सुविधाका माध्यमबाट हामीले विज्ञानलाई सदा उन्नत र व्यवस्थित बनाएका छौँ । तर व्यवस्थापकीय पक्ष भने हाम्रा लागि कमजोर बनेको छ । यो सैद्धान्तिक आधारमा देखापरेको चेतना पनि हो । यही चेतनाका माध्यमबाट हामीले विज्ञानलाई सबैभन्दा महत्त्वपूर्ण मानेका छौँ । आज ज्ञान कमजोर बनेको छ । हुन त ज्ञानविना विज्ञान आएको होइन तर विज्ञानले ज्ञानलाई जीवन्त बनाएको होइन ज्ञानले विज्ञानलाई जीवन्त बनाएर पठाएको हो ।
संहारक विज्ञान
विज्ञानले विकासको चरम उत्कर्षलाई छोएको छ । त्यो उत्कर्ष ज्ञानबाट आएको भन्नेमा विज्ञानवादीहरू सहमत पनि छन् । विज्ञानले दिएको प्रगति र त्यसबाट पाएको विकासले हामीले जीवनको महत्वलाई सम्झेको देखिँदैन । विज्ञानबाट पाएको अलौकिक विकास आज ज्ञानका लागि सर्वोपरी बनेको छ । सामान्यतया प्रकृतिको सौन्दर्य मानवीय चेतना हो । प्रकृतिले जुनरूपमा मानिसको विकास र उन्नतिमा आफूलाई समर्पित गर्यो त्यो आज विज्ञानका अघि निरीह बनेर बसेको देखिन्छ । प्रकृतिको मीठो वातावरणमा हुर्केको मानिस आज प्रकृतिमा आएको परिवर्तनका अघि लाचार बनेको छ । प्रकृतिका माध्यमबाट सुखी, समुन्नत बनेको मानव जीवनलाई आजको प्रकृतिले खप्न नसक्ने बनाएको छ । प्रकृतिको दोहन गरेर मानिसले आफूलाई जसरी विकास गरेको छ त्यसमा आजको मानिस पूर्णरूपमा सफल हुन सकेको छैन ।
विज्ञानको जुन प्रगति देखियो त्यो आजको विकास हो । विज्ञानले दिनप्रतिदिन मानिस तथा मानिसका सन्तानलाई जसरी वर्तमानमा सफल बनायो र आगतमा समुन्नत बनाउनेछ आज त्यही विज्ञान रोएको छ प्रकृतिका अघि । वातावरणमा अचानक परिवर्तन देखियो । तापक्रमले दिनदिनै आफ्नो भयावह स्थितिलाई सिर्जना गरिरहेको छ । आजको समाज र आजको मानिस कर्ममा विश्वास गर्न छोड्यो । मानिसको विश्वास विज्ञानमा बढी देखिन थाल्यो । त्यसैले मानिस विज्ञानको पछि भौँतारिरहेको छ । विज्ञानको नाममा गरिएका विकास र निर्माणले आज प्रकृतिलाई आफ्नोपनबाट बाहिर घचेटिरहेको छ । यो प्रकृतिमा आएको परिवर्तनको कारण प्रकृति होइन ।
प्रकृतिलाई बिगारेर विज्ञानका नाममा विकास गर्ने मानव हो । विकास अनिवार्य हो मानव सभ्यताका लागि । तर, विकासका नाममा प्रकृतिप्रति गरिने अभद्र व्यवहार कदापि स्वीकार्य हुँदैन प्रकृतिका लागि । मानिसको जीवनलाई सुख, समृद्धि र समुन्नति दिने विज्ञान प्रकृतिको प्रहारमा किन मौन देखियो । मौसममा आएको परिवर्तनको कारक विज्ञान हो । विज्ञान तथा शक्तिका नाममा गरिने युद्ध, कलकारखानाबाट निस्कने धुवाँ र युद्धमा प्रयोग गरिएका शस्त्रहरूबाट बाहिर आउने कार्बन नै प्रकृतिलाई मास्ने कारक बनेर देखिए आजको विश्वमा ।
प्रकृतिलाई बिटुलो बनाउने अर्को डरलाग्दो पाटो कङ्क्रिटका महलहरू पनि हुन् । संसारका मानिस आज आफूलाई महलका बासिन्दा मान्छन् । महलमा बसेर जीवनलाई सुखमा बिताउने आजको मानिस प्रकृतिको रौद्र रूप देखेर चकित बनेको छ । नेपालका गाउँहरू रित्तिए । सुखका नाममा मानिस एक छाक खाएर पनि शहरको बासिन्दा हुन रुचायो र सहर पस्यो । वातावरण र प्रकृतिको उछित्तो काढ्ने गरी विकासको लहर गाउँमा पस्यो । प्रकृति मास्यो र विकासको गतिलाई अघि बढायो । मानिसरहित समाजमा विकास किन ? मधेश आज उच्च गर्मीको चापमा बसिरहेको छ । कतिपय जिल्लाहरूमा अत्यधिक गर्मीले मानिसको स्वास्थमा समेत प्रतिकूल असर पर्न थालिसक्यो ।
हामी विकासका नाममा प्रकृतिप्रति नै असन्तोषी बनेर देखिनथाल्यौँ । विकसित मुलुकमा बेराजगारी भत्ता छ । युवादेखि लिएर वृद्धसम्म घरमा बसेर जीवन चलाउन सक्छन् । हामी अहिले पनि कृषिप्रधान देशका बासिन्दाका रूपमा दरिएका छौँ । समयमा वर्षा भएको छैन । गाउँघरका खेतबारीमा लगाएको अन्नबाली सुकिसक्यो पानी परेको छैन । हामीले प्रकृतिलाई सत्तोसराप गरिरहेका छौँ तर आजको यो डरलाग्दो दृश्य पृथ्वीलाई दिने विज्ञान होइन र ? विज्ञानका नाममा गरिएको विकासले प्रकृतिको सुन्दरतालाई भत्काइदियो । प्रकृतिले पनि विज्ञानबाट पाएको विकासलाई लत्याइदिएको छ । मानिसको यो प्रगतिलाई पनि ।
छ ऋतु छन् । ऋतु अनुसारको मौषम परिवर्तन भइरहने गर्दथ्यो हाम्रो देशमा तर संहारक विज्ञानले प्रकृतिमाथि नै कब्जा जमाउन थालिसक्यो । प्रकृतिलाई विकासका नाममा मास्ने प्रवृत्तिका कारण आजको मानिस आफैँलाई कमजोर मानिसकेको छ । मानिसले गरेका प्रकृतिविरोधी प्रवृत्तिका कारण आजको प्रकृति पनि मानिससित रिसाएको हो कि ? भन्ने अवस्था सिर्जना भइसकेको छ । भारतका कतिपय सहरमा तापक्रमले बाउन्न डिग्री नाघिसक्यो । नेपालको तराईको तापक्रम पनि उच्च बनेर देखियो । यो प्रकृतिको दोष होइन । विज्ञान आज वरदान होइन मानव सभ्यताको संहारक बनेर उपस्थित हुनथालेको छ । प्रकृतिमा आएको यो परिवर्तन त्यसैको देन हो । आज बालकृष्ण समले भनेजस्तै रोइ विज्ञान मर्दछ भनेको सत्य सावित हुन थालेको छ ।
उद्धारक ज्ञान
ज्ञान आफैँमा पूर्ण हुन्छ विज्ञान अपूर्ण । विज्ञान सदा खोजमा लाग्छ जति खोजेर भेटे पनि शान्त हुँदैन । ज्ञान आफ्नो सीमामा पुगेपछि शान्त हुन्छ । हाम्रो देश ऋषिहरूको सभ्यतामा रमेको देश हो । ऋषिहरूले तपस्याका माध्यमबाट पाएको ज्ञानको अथाह सागर पनि हो । त्यो सागरलाई आजको विज्ञानले ध्वस्त गरिदिएको छ । सभ्य संस्कृति, स्वस्थ परम्परा, मातापिता, गुरु आचार्य तथा अतिथिलाई देवता मान्ने ज्ञान हो । यो ज्ञानलाई पाएका हामी प्रकृतिका पूजक हौँ । प्रकृतिलाई पूजा गरेर प्रकृतिबाट पाएको वस्तुबाट जीवन चलाउने परम्पराका हामी हौँ । आजको अवस्था त्यस्तो रहेन । हामी प्रकृतिका पूजक हुन सकेनौँ । प्रकृत्तिले दिएको ज्ञानलाई हामीले सम्मान पनि गर्न सकेनौँ । आजको अवस्था यही हो र सत्य पनि यही नै हो ।
आजको समाज उन्नत छ । आजका बाबुनानीका अभिभावक विज्ञानसम्मत छन् तर आजको समाज सुसंस्कृति छैन । त्यसैले आवश्यक परेको हो कि संस्कार शिक्षा आजका बालबालिकालाई ? विज्ञान पढेर आजको पुस्ता माथि गयो । पैसा कमायो तर उसमा ज्ञान भएन । आत्मसन्तोष भएन ।
आर्ष परम्परा र ऋषि सभ्यतामा हुर्केका हामी नेपालीको सबैभन्दा उच्च अवस्था ज्ञान हो । यही ज्ञानका माध्यमबाट हामीले जीवनको वास्तविकता र जीवन बुझाइ पाएका हौँ । ज्ञान गुरुपरम्पराबाट आउने विचार हो । यस विचारलाई हामीले पनि संरक्षण गर्न सकेनौँ । विज्ञानको बुई चढेर हामीले ज्ञानका ढोका बन्द गर्न थालिसक्यौँ । ज्ञान आफैँमा सत्य हो । ज्ञान आफैँमा मानव जीवन हो । जीवनका हरेक क्षणलाई ज्ञानले सजिलो र विज्ञ बनाएको हुन्छ ।
आज हामी त्यता रहेनौँ । विज्ञानको ढोका उघारेर जीवनको महत्तालाई स्वीकार गरिरहेका छौँ । ज्ञानको पाटो हाम्रा लागि कमजोर बनेर देखियो । ज्ञानको परम्परा आचार्यबाट शिष्यमा सर्दै जाने हो । यही परम्परामा हामी निरन्तर जीवन्त रहेर जीवनका हरेक पललाई जीवनको निर्वाहमा उतारिरहेका हुन्छौँ । त्यस ज्ञानको परम्परा आज समाप्त भयो । विज्ञानको परम्पराले ज्ञानमाथि कब्जा जमाउन थालेको छ ।
ज्ञानले प्रकृति प्रदत्त सबै कुरालाई जीवन्त बनाऊ भन्छ । प्रकृतिमा आएको परिवर्तनले विज्ञानका अघि चुनौतीका पहाड थपिदिएको छ । ज्ञान भने उही अवस्थामा विद्यमान रहेको छ । ज्ञानलाई जीवन्त राखेर विज्ञानले दिएको वरदानलाई हामीले जीवन्त बनाउन सक्दैनौँ । आर्ष परम्परा र त्यस परम्पराले दिएको दिगो ज्ञानको भण्डारलाई हामीले गतिशील बनाउनु आवश्यक देखिन्छ । आज आएर नेपालका कतिपय सरकारी विद्यालय र निजी विद्यालयहरूले संस्कार शिक्षा र संस्कृतलाई प्राथमिकतामा राखेर यसै शैक्षिक सत्रदेखि अध्ययन गराउने धारण अघि सारिरहेका छन् ।
अबको यो विज्ञानले सजिएको युगमा संस्कृत र संस्कार शिक्षाको आवश्यकता किन ? आजका पाठ्यपुस्तकमा ज्ञान छैन विज्ञान छ । विज्ञानको प्रगति छ । विज्ञानले गरेको उन्नति छ तर हाम्रा ऋषि तथा प्रकृतिले दिएको ज्ञान छैन । त्यसैले आजको पुस्ता र आजका विद्यार्थीलाई परम्परा, ज्ञान, संस्कार र संस्कृत शिक्षाको आवश्यकता परेको होला ?
आजको समाज उन्नत छ । आजका बाबुनानीका अभिभावक विज्ञानसम्मत छन् तर आजको समाज सुसंस्कृति छैन । त्यसैले आवश्यक परेको हो कि ? संस्कार शिक्षा आजका बालबालिकालाई । विज्ञान पढेर आजको पुस्ता माथि गयो । पैसा कमायो । विदेशका गल्लीमा भौँतारियो । उसमा ज्ञान भएन । आत्मसन्तोष भएन । प्रकृतिले दिएका कुरामा आफूलाई विश्वास भएन । आजको पुस्तालाई संस्कार सिकाउन थाले कतिपय विद्यालयले तर आज राज्यले शिक्षामा खर्चिने बजेट त विज्ञान र वैज्ञानिक अध्ययनका लागि छ । ज्ञान मानिसको जीवनको उद्धारक हो । मानिसले आफूलाई चिन्ने आधार हो ।
जीवन कसरी बाँच्ने भन्ने सन्दर्भ हो । संहारक होइन प्रकृति र मानव सभ्यताको । ज्ञानले हाँस्न सिकाउँछ । ज्ञानले बाँच्न सिकाउँछ । बालकृष्ण समले भनेजस्तै ज्ञान मर्दछ हाँसेर हो । विकासका नाममा विज्ञानलाई प्राथमिकतामा राख्ने संसारका सबै शासकहरू ! प्रकृतिको रौद्र रूप हेर्नका लागि विज्ञानको रटान छोड र ज्ञानका पछि लाग । होइन भने तिमी र तिम्रो शासनमात्र होइन मानवता र मानिस नै प्रकृतिको डरलाग्दो भँगालोमा समाहित हुनेछ ।

ज्ञानले बिज्ञानलाए प्याेग गरे पछि बित्रन संहारक हुनै पाउदैन नि ।